काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य घट्ने भएको छ । शुक्रबारबाट लागु हुने गरी मूल्य घटाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
‘हामीले आज बैठक बसेर भोलिबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका छौं,’ उनले भने । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् । उनका अनुसार न्यूनतम प्रतिक्रेट ३० रूपैयाँदेखि अधिकतम ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाइएको छ ।
मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ । यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो ।
यो किसानले पाउने मूल्य हो । उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उनले बताए । ‘उत्पादन धेरै भएर, किसानलाई फाइदा भएर मूल्य घटाएको होइन,’ उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धा भएकाले मूल्य घटाउन परेको हो ।’ उनले तुरून्तै अण्डाको मूल्य बढ्ने जानकारी दिए ।