काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि हत्या भएका पुरुष व्यक्तिको सनाखत भएको छ । उनी ललितपुरको कार्यविनायक घर भएका २८ वर्षीय सुसन शाक्य रहेको खुलेको छ ।
हत्या आरोपमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी अपिलराज बोहोराले बताए ।
प्रहरीले पक्राउ गरेका दुई जना नाबालक छन् । जसका कारण उनीहरूको परिचय गोप्य राखिएको छ । बिहानीपख शव फेला परेको भन्दै प्रहरीलाई खबर आएपछि परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सो क्रममा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।
सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले हत्या स्वीकार गरेको परिसरका एक अधिकृतले बताए ।
ती अधिकृतका अनुसार पक्राउ परेकाहरूले बाँसको भाटाले टाउकोमा हानेर हत्या गरेको बयान दिएका छन् । उनीहरूले हत्यामा प्रयोग गरेको बाँस पनि फेला परेको छ ।
पक्राउ परेकाहरूको भनाइ अनुसार घटना बुधबार रातिको हो । मन्दिर अगाडि बसिरहेको अवस्थामा मृतक युवकले बिनाकारण थप्पड हानेपछि आफूहरूले पनि बाँसको भाटाले हानेको आरोपितको भनाइ छ ।