रोल्पा । जनयुद्ध दिवसको अवसरमा रोल्पाको परिवर्तन गाउँपालिकामा ‘जनयुद्ध र जनआन्दोलनका साहित्यिक स्रष्टाहरुलाई सम्मान तथा साँस्कृतिक कार्यक्रम–२०८१’ सम्पन्न भएको छ । सोही पालिकाको आर्थिक सहयोग तथा रोल्पा कला–साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार परिवर्तन गाउँपालिका–५ सहिद स्मृति रंगशाला धामाचौरमा कार्यक्रम सम्पन्न भएको हो ।
रोल्पा कला–साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन प्रवेश रोकामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीको प्रमुख अतिथिको रुपमा सहभागी थिइन् भने कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान प्रमुख राजबहादुर बुढामगर विशिष्ट आतिथिको रुपमा उपस्थित थिए ।
कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर, परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हीतकुमारी बुढामगर, परिवर्तन गाउँपालिका–१ का वडाअध्यक्ष मैते बुढामगर, वडानम्बर २ का वडाअध्यक्ष हरिप्रसाद बुढामगर, ४ नं वडाका वडाअध्यक्ष मानसिंह बुढा, ५ नं वडाका वडाअध्यक्ष दिलबहादुर वली, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका उपसभापति कुलबीर घर्तीमगर, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका उपाध्यक्ष देवबहादुर बुढामगर, जेष्ठ नागरिक समन्वय समिति परिवर्तन गाउँपालिका उपाध्यक्ष दलबहादुर बुढामगर, नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमाराका निवर्तमान सभापति प्रवेशप्रसाद बुढामगर, उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेमकुमार बुढामगर, जलजला बहुमुखी क्याम्पसका प्राध्यापक श्याम बुढामगर र नेपाल राष्ट्रिय नमूना मावि मौलाबोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणबहादुर बुढामगर लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो।
सो अवसरमा रोल्पा कला–साहित्य प्रतिष्ठानका सदस्य मनप्रसाद पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा परिवर्तन गाउँपालिका भित्र रहेका परिवर्तन गाउँपालिका–१ कुरेलीबाट ४८ जना, परिवर्तन गाउँपालिका–२ राङ्सीबाट २६ जना, परिवर्तन गाउँपालिका–३ इरिबाङ्बाट ३० जना, परिवर्तन गाउँपालिका–४ पाछाबाङबाट ३१ जना, परिवर्तन गाउँपालिका–५ राङ्कोटबाट ६२ जना र परिवर्तन गाउँपालिका–६ इरिबाङ्बाट ९ जना गरि जम्मा २ सय ६ जना साहित्यिक स्रष्टाहरुलाई मायाको चिनो, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ ।
कार्यक्रमको उद्घाटन प्रतिनिधिसभाका पूर्वसभामुख ओनसरी घर्तीले गरेकी थिइन् । सो अवसरमा बोल्दै पूर्वसभामुख घर्तीले जनयुद्धले कुनै समय देश हल्लाएको बताइन् । घर्तीले जनयुद्ध कुनै व्यक्तिको स्वार्थको लागि नभई दमन र अत्याचार विरुद्ध भएको समेत जिकिर गरिन् । साथै उनले दसबर्षे जनयुद्धमा साहित्य तथा कलाले महत्वपूर्ण योगदान गरेको बताइन् ।
अर्का वक्ता तथा जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान प्रमुख राजबहादुर बुढामगरले साहित्यकार साहित्य र कलाकारको कलाले गर्दा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको बताउँदै दसबर्षे जनयुद्धमा समेत साहित्य र कलाले महत्वपूर्ण योजना पुर्याएको जिकिर गरे ।
सो अवसरमा बोल्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगरले आफूहरुले हिजो जनयुद्धमार्फत् उत्पीडक वर्गको विरुद्ध संघर्ष गरेको बताउँदै सहिद नभएको भए आज ‘गाउँपालिका’ भन्ने अवस्था नआउने र यो परिवर्तनको लागि योगदान र संघर्ष गर्ने व्यक्तिहरुलाई स्थानीय सरकारले सम्मान गर्नु पनि ठूलो कुरा भएको बताए ।
परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हीतकुमारी बुढामगरले सहिदको योगदान र बलिदानले आज परिवर्तन सम्भव भएको बताइन् । कार्यक्रमको सञ्चालन रोल्पा कला–साहित्य प्रतिष्ठानका सदस्य दिलिप बुढामगरले गरेका थिए ।