• फाल्गुन ९ २०८१, शुक्रबार

चुनावपछि महाधिवेशन गरे कांग्रेसको हालत खतम हुन्छ : शेखर कोइराला

फाल्गुन ८ २०८१, बिहीबार

८ फागुन, सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘नेपाली कांग्रेस पुरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन गरौँ भनेको छु । महाधिवेशन समयमै गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ ।’

उनले यो पटकको महाधिवेशनमा आफू सभापतिका लागि अघि बढेको सङ्केत समेत गरे । उनले भने, ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु ।’ अहिले देशको अवस्था निकै नाजुक रहेको बताउँदै उनले हामी सबैले निकै गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । सरकार समेत यसमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

कोइरालाले भने, ‘हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन छँदै छैन ।’ अहिलेको गठबन्धनले ७ बुँदे समझदारी गरेको स्मरण गराउँदै उनले तर त्यो कार्यान्वयन नभएको उनले बताए । उनले पछिल्लो समय दुई ठुला दल मिले निरङ्कुशता हुन्छ भन्ने प्रसङ्गप्रति सहमति समेत जनाए । ‘हो, हामीले खबरदारी पनि गरेका छौ, सबैतिर खबरदारी गर्नुपर्छ ।’