• फाल्गुन ९ २०८१, शुक्रबार

‘ट्रम्प भन्छन मसँग रुस–युक्रेन युद्ध अन्त्य गर्ने शक्ति छ’

फाल्गुन ७ २०८१, बुधबार

फागुन ७, काठमाण्डौं ।
वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रुस–युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन् । मंगलबार साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि बोल्दै ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको बताएका छन् । मलाई लाग्छ, मसँग यो युद्ध अन्त्य गर्ने शक्ति छ,ु ट्रम्पले भनेका छ्न् । युक्रेनमा शान्ति सम्झौता हासिल गर्न सकिनेमा आफू बढी विश्वस्त रहेको ट्रम्पको भनाइ छ । तर मंगलबारको वार्तामा भने युक्रेनी पक्षलाई संलग्न गराइएको थिएन ।

दुवै देशका विदेशमन्त्रीको नेतृत्वमा भएको वार्तामा रुस र अमेरिकाबीच युक्रेन युद्ध अन्त्यका गर्ने सहमति भएको थियो । त्यसका लागि दुवै देशले उच्चस्तरीय वार्ता गर्ने निर्णय भएको रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले जनाएका छन् । वार्तामा रुसी पक्षबाट लाभरोभसँगै रुसी राष्ट्रपति भ्लादिमर पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभ सहभागी थिए । विदेशमन्त्री मार्को रुबियोले नेतृत्व गरेको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ सहभागी थिए ।

त्यस्तै वार्तामा आयोजक साउदी अरबका तर्फबाट राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल(साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल(ऐवान सहभागी थिए । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने आफ्नो देशलाई वार्तामा निमन्त्रणा नगरिनु आश्चर्यजनक भएको बताएका छन् । त्यसको प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न युक्रेनले पहिले नै सम्झौता गर्न सक्थ्योु भनेका छन् ।

अमेरिका र रुसबीचको वार्तापछि राष्ट्रपति जेलेन्स्कीले यसै साताका तय भएको साउदी अरबको भ्रमण १० मार्चसम्मका लागि स्थगित गरेका छन् । उनले बारम्बार युक्रेनको संलग्नताबिनाको वार्तालाई मान्यता नदिने बताउँदै आएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा कसैलाई पनि किनारा नलगाइएको बताएका छन् । रुस युद्ध अन्त्य गर्ने गम्भीर प्रक्रिया सफल हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । रुबियोले मंगलबार भएको वार्ता ुलामो र कठिन यात्राको पहिलो चरणु भएको जनाएका छन् । युरोपेली देशहरूले पनि युक्रेनको सहभागिताबिनाको वार्तालाई मान्यता नदिने बताएका छन् ।

अमेरिका र वार्ता सुरू भएसँगै फ्रान्स, बेलायत, जर्मनी, पोल्याण्ड, इटाली, स्पेन र डेनमार्क लगायतका युरोपेली देशहरू युक्रेनको प्रतिरक्षामा एकजुट भएका छन् । युक्रेनबिना वा युरोपको संलग्नताबिना कुनै पनि सम्झौता हुन नसक्ने उनीहरूको भनाइ छ । रियाद वार्ताका क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा नेटो सेनालाई कुनै पनि शान्ति सम्झौताको हिस्साको रूपमा स्वीकार नगर्ने चेतावनी दिएका छन् । रुसले युरोपेली संघमा आवद्ध हुने विषय रुस युक्रेनको निर्णय भएको र त्यसमा आफ्नो कुनै लेदनेद नभएको प्रष्ट पारेको छ ।

तर युक्रेन सुरक्षा, रक्षा वा सैन्य गठबन्धनको विषयमा भने रुसले कुनै सम्झौता नगर्ने जनाएको छ । रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेन आक्रमण सुरु गरेसँगै युक्रेनसँग युद्ध सुरु भएको हो । तीन वर्ष लामो युद्धका क्रममा दुवै देशले ठूलो क्षति व्यहोरेका छन् । यस अवधिमा रुसले कम्तीमा २० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको छ । युक्रेनले पनि रुसी जहाज, सेनाका गाडी तथा कतिपय सहरमा ड्रोन आक्रमण गर्दै आएको छ । रुसी आक्रमणका कारण कम्तीमा ४० हजार युक्रेनीहरूको ज्यान गइसकेको छ ।

६८ लाख युक्रेनी देश छाड्न बाध्य भएका छन् भने ४० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भइसकेका छन् । १ करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायता आवश्यक भएको बताइएको छ । रुसी आक्रमणयता युक्रेनले ४ खर्ब ७ अर्ब अमेरिकी डलर बराबरको अनुदान प्राप्त गरिसकेको छ । योमध्ये १ खर्ब १८ अर्ब डलर बराबरको अनुदान अमेरिकाले प्रदान गरेको हो । तर ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालेसँगै भने युक्रेनले प्राप्त गरिरहेको सैन्यलगायतको सहयोग रोकिने देखिएको छ ।

ट्रम्प प्रशासनले रुसविरुद्ध लड्न गरेको सहयोगको बदलामा युक्रेनले आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने बताएको छ । अर्थमन्त्री स्कट बेसेन्टले गत बुधबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भएको भेटमा हालसम्मको सहयोग र त्यसको निरन्तरताका लागि आधा खनिज दिनुपर्ने सर्त राखेका हुन् । तर ट्रम्प प्रशासनले राखेका सर्त युक्रेनले अस्वीकार गरिसकेको छ । युक्रेनी अधिकारीहरूले भने खनिज पदार्थका साथै अन्य प्राकृतिक स्रोत, तेल र ग्यासमा पनि स्वामित्व खोजिएको बताएका छन् । जेलेन्स्कीले प्रस्ताव अस्वीकार गरेकाले ट्रम्पले सैन्य र आर्थिक सहायता रोक्ने र युद्ध अन्त्यको पहल सुरु गरेको अनुमान गरिएको छ ।