• फाल्गुन ९ २०८१, शुक्रबार

प्रजातन्त्र दिवसमा नेताहरू अनुपस्थिति हुँदा बाबुराम असन्तुष्ट

फाल्गुन ७ २०८१, बुधबार

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा शीर्ष नेताहरूको अनुपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन ।

सैनिक मञ्चमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री, उप–प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरू उपस्थित भए पनि प्रमुख प्रतिपक्षी दलका नेतासहित पूर्वप्रधानमन्त्रीहरू कोही पनि उपस्थित नभएकोमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो निराशा व्यक्त गरेका हुन् । भट्टराईले प्रायः यस्ता राष्ट्रिय दिवसहरूमा यस्तो दृश्य देख्दा मन खिन्न हुने गरेको बताएका छन् ।

राष्ट्रिय दिवसहरूका बारेमा केही कुराहरू सच्याउनु पर्ने र संख्या घटाउनु पर्ने आफ्नो धारणा रहेको उनले उल्लेख गरेका छन् तर, अर्काे निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्ने उनको जोड छ।

विशेषगरी राज्यको उच्च ओहोदामा बसिसकेका व्यक्तिहरूले आ–आफ्ना फरक राजनीतिक आस्थाका बाबजुद राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नुपर्ने डा. भट्टराईले बताएका छन् ।