हिजो अकस्मात म्याग्दीका पूर्वमन्त्री माननीय जगत गौचनसँग भेट भयो । भेट राजनीतिक सन्दर्भको थिएन । गौचनजीको ‘बुक अफ फाइव रिङ’ नामको अनुवाद ग्रन्थ प्रकाशित भएको रहेछ ।
चिया पिइयो, सामान्य भलाकुसारी गरियो । आपसमा पुस्तक प्रकाशनहरु आदान प्रदान गरियो । गौचनजीले आफ्नो जन्म गाउँ केन्द्रित ऐतिहासिक उपन्यास ‘तुलु राजा’ कहिलेसम्ममा प्रकाशित हुन्छ भनेर जिज्ञासा राख्नुभयो ।
पाण्डुलिपी प्रकाशककोमा पुगेको गत असोज महिनामै हो । तयारी हुँदैहोला । ‘यो वर्ष भित्रै प्रकाशित होला’ भन्नुबाहेक अरु के भन्न सक्थेँ र ? !! मर्जी प्रकाशकको नै हो ।
हल्ला त बजारभरि छ । यतिखेर गौचनजीको राजनीतिक दलले संसदमा समेत प्रायोजित लेखनको प्रश्न उठाइरहेको छ । उनीहरुका लागि त्यो स्वाभाविक विषय बन्नु आश्चर्य मान्नुपर्ने कुरा होइन । राप्रपाले बोकेर हिँडेको राजशाही विरुद्धको आन्दोलनमा नेपालको अखबारी लेखनको महत्वपूर्ण भूमिका थियो भन्ने कुरा इन्कार्न सकिने विषय होइन ।
हामीबिच भने त्यस बारेमा चर्चा भएन । प्रकट नगरे पनि गौचनजीको मनभित्र जिज्ञासा त हुँदो हो । अमेरिकी संसदमा कसले कुन आधारमा प्रश्न उठायो कुन्नी ? अमेरिकी लगानीमा नेपालमा धर्म संस्कृति विरुद्ध जनमत तयार गर्ने उद्देश्यबाट लाखौं डलर खर्च गरियो भन्ने कुरामा सत्यता छ जस्तो पटक्कै लाग्दैन ।
नेपाली समाजमा कृस्चियानिटीको प्रभाव बढिरहेको कुरा भने सत्य हो । चर्चहरुले घरघर बाँड्दै हिंड्ने लेख्य प्रचार सामग्रीमा ठूलै रकम अवश्य खर्च भयो होला । तर नेपाली लेखकहरुले, अझ यतिखेर सामाजिक सञ्जालमा डलर हसुर्ने भनेर नाम र फोटो सार्वजनिक गरिएका कवि र लेखकहरुले पश्चिमाहरुको सहयोग, प्रायोजनमा लेखे पनि दाताको निर्देशनमा आफ्नो समाजलाई नोक्सान पुग्नेगरी सिर्जना गर्ने गरेको देखिंदैन ।
हो, लेखकहरु सबै धनधान्य सम्पन्न छैनन् । सबै लेखकका आ–आफ्ना प्रकाशन गृह पनि छैनन् । प्रकाशनका लागि अरुकै सहयोग खोज्नुपर्छ, प्रकाशकहरु गुहार्नु पर्छ ।
आफ्नै कुरा गरौं । हो, मेरा पनि एकाध दर्जन पुस्तकपुस्तिका प्रकाशित छन् । ती सबै अनुदान सहयोगमै प्रकाशित भएका हुन् भन्दा फरक पर्दैन । तर कुनै विदेशी अनुदान, प्रायोजन वा सहयोगमा होइन नेपाली प्रकाशकहरुको अनुदानमा छापिएका हुन् ।
मूलतः मैले लेख्छु । शिखा प्रकाशनले छापिदिन्छ । त्यस अर्थमा शिखा प्रकाशनका मालिक पुष्पराज पौडेलको अनुग्रहमा सबै जसो पुस्तकहरु छापिए, छापिंदैछन् ।
प्रकाशनले नाफाघाटाको गुनासो कहिल्यै गरेको छैन । त्यसका लागि पुष्पराज पौडेलजीप्रति आभारी छु । शिखा प्रकाशनसँगको सहकार्यको कथा पनि स्मरणीय छ ।
२०७१ सालको बैसाखमा काठमाडौंको डेराडण्डा उठाएर पोखरा झरियो । पोखरा टेकेकै भोलिपल्ट दिदीको देहावसान भयो । दिदीको शोकबाट मुक्त हुन नपाउँदै लगत्तै २०७२ सालमा साहिंलो दाजुको निधन भयो । ती दुई वर्ष मैले कोठाभित्र गुप्तबास बसेर बिताएँ । साथी थिए काठमाडौंबाट बोकेर आएका पुस्तकहरु ।
तेश्रो वर्ष प्रारम्भ भएपछि झण्डै दस वर्षदेखि थन्क्याएको कलम समातेर घोट्न थालेँ । मसँग प्रकाशनको लागि पैसो थिएन । कुनै प्रकाशन गृहसँग चिनाजानी, सम्पर्क र सम्बन्ध पनि थिएन । गोटादुई पाण्डुलिपी तयार भएपछि प्रकाशकको खोजी गर्नुपर्ने जस्तो लाग्यो ।
धेरै अघि कुनै सन्दर्भमा पुष्पराजजीसँग काठमाडौंको बागबजारमा भेट भएको थियो । गाइड, गेसपेपरहरु मात्रै छाप्नुहुन्छ कि पुस्तक पनि छाप्नुहुन्छ ? भन्ने मेरो जिज्ञासामा बजारमा जाने खालको पुस्तक पाए छाप्ने हो भनेर जवाफ दिनुभएको थियो ।
पाण्डुलिपी तयार भएपछि त्यही पुरानो भेटको प्रसङ्ग सम्झेँ । शुभकाममा विलम्ब किन भनेर मित्र सोभियत खड्का मार्फत् फोन नम्बर लिएर सम्पर्क गरेँ ।
पहिलो कुराकानीमै कन्टेन्ट हेरेर जवाफ दिने सदाशयता देखाउनु भयो । ‘मृत्यु संस्कार मन्थन’ को विषयसूची पठाएँ । ‘कन्टेन्ट ठिकै लाग्यो । पाण्डुलिपी पठाउनुहोस्’ भन्नु भयो ।
पहिलो पुस्तक छापिएको तीन महिनापछि अर्को पुस्तक तयार छ कि भनेर सोध्नु भयो । ‘भौंज्याहा’ तयार थियो । पुष्पजीले आख्यान वा कविता छैन भनेर सोध्नु भयो । आख्यान लेखेको त छैन । छाप्नुहुन्छ भने छ महिनामा एउटा उपन्यास दिनसक्छु भने । त्यसरी अर्को वर्ष ‘महारानी’ छापियो ।
पोखराको कुरा हो । एक प्रसङ्गमा मित्र असफल गौतमजीले ‘सार्वजनिक कार्यक्रममा बिरलै देखिने मानिसको रुपमा’ परिचय दिनुभएको थियो ।
पोखरा बस्न थालेको पूरापूर १० बर्ष बितेछ । प्रकाशनको तयारीमा रहेको ‘तुलु राजा’ पोखराको रत्नचोकस्थित डेरामा लेखिएको आठौं पुस्तक हो । अर्को एउटा पुस्तक पनि प्रेसमा पठाउन मिल्ने अवस्थामा छ । दशौं पुस्तकको तयारी सुरु गरेको छु ।
नेपालकै सुप्रशिद्ध कवि लेखक, नाटककार सरुभक्त भन्दा उमेरले म जेठो छु । एक प्रसङ्गमा ‘बूढो भैयो भनेर लेख्न नछोड्ने’ सल्लाह श्रद्धेय श्रेष्ठजीले दिनु भएको थियो । लेख्न त अवश्य लेखौंला तर पोखराको बारेमा लेख्न सकिंदैन कि ! म्याग्दीबाट यति धेरै विषय बोकेर आएको छु कि चार पाँच वर्षलाई खुराक प्रयाप्त छ भनेको थिएँ ।
कुरो ७७ सालको हो । ‘विषय जहाँको भए पनि जे भए पनि तपाईंका कृतिहरु पोखराका सम्पत्ति हुनेछन्’ भनेर उत्प्रेरित गर्ने साहित्यकार बन्धु श्रेष्ठजीसँग त्यसपछि भेट हुने अवसर मिलेको छैन । पोखराले चिन्ला नचिन्ला मैले लेख्न भने छोडेको छैन ।
मेरो लेखनले समाजलाई ज्ञानगुन देला भन्ने लाग्दैन । मृत्युको प्रतिक्षा गरिरहेको उमेरमा सजिलोसँग दिन काट्ने मेलो मात्रै हो । आजसम्मको मेरो लेखन कुनै न कुनै रुपमा मेरो जन्मभूमी म्याग्दीकै सेरोफेरोमा अलमलिएको छ ।
लेख्न त ‘ऐतिहासिक ताकम’ लेख्न मनलागेको थियो । देशमै चर्चित भएको ‘बेनी आक्रमण’ लेख्ने पनि मन थियो । ताकमको मसिनो स्थलगत अध्ययन गर्न जाने हिम्मत अब ममा छैन । अर्को विषय पनि नछोउँ कि जस्तो लागेको छ । लेखेर कति गाली खाने ?!! त्यसैले यो दशौं लेखनपछि म्याग्दीलाई नमस्ते गरौं कि जस्तो लागेको छ ।
म्याग्दीकै मेरा एकजना आफन्तले वैदेशिक अनुदान खाएर लेख्ने साहित्यकारहरुको सूचिमा सनातन संस्कृति बिरुद्ध लेख्ने बानियाँको नाम किन चढेन भनेर गुनासो गरेछन् । हो, मैले लेख्नैको लागि पैसो नलिए पनि लेखोटहरुको प्रकाशनको लागि अरुकै सहयोग लिएको छु । मेरो गोजीको सुको आनो खर्चेको छैन ।
मैले पाएको अनुदान वा सहयोग बुकहिल प्रकाशन, बानियाँ बन्धु समाज, पुलस्त्य साहित्य समाज, पुलस्त्य–पुलह क्षेत्र विकास समिति र मुख्यतः शिखा प्रकाशनको हो । ती सबै संघ संस्थाहरुले कुन मुलुक वा अन्तराष्ट्रिय संघसंस्थाबाट डलरमा सहयोग अनुदान लिन्छन् भन्ने कुराको मलाई जानकारी छैन ।