७ फागुन, काठमाडौं । बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको हो ।
तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले बताए । बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने दाहाल मृत भेटिएका हुन् । प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
मृतकको टाउकामा चोट लागेको पाइएको छ । हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ६ जना मृतकसँगै बस्दै आएका व्यक्तिहरू रहेको खुलेको छ ।
उनीहरू सबै ज्यामी काम गर्नेहरू हुन् । नियन्त्रणमा रहेका एक जना दाहालले बिहानीपख रगत वान्ता गरेको प्रहरी समक्ष बताएका छन् ।