• फाल्गुन ९ २०८१, शुक्रबार

प्रजातन्त्र जनताको साहसिक संघर्ष र सहिदहरूको त्यागकै कारण सम्भव भएको हो: सभामुख घिमिरे

फाल्गुन ७ २०८१, बुधबार

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने सभामुख देवराज घिमिरेले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सभामुख घिमिरेले आज जारी गरेका शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताएका हुन् ।

“विसं २००७ को प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरङ्कुशताको अन्धकारबाट मुक्त गरी स्वतन्त्रताको उज्यालोमा ल्याएको थियो”, सन्देशमा भनिएको छ, “प्रजातन्त्र दिवसले हामीलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने गरेको छ ।”

सभामुख घिमिरेले सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गरेका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । “सहिदहरूको बलिदानले प्रजातन्त्र तथा नागरिक स्वतन्त्रतासँगै देशले गणतन्त्रको यात्रा तय गरेको थियो, बि.सं. २०६२/६३ को जनआन्दोलनले पञ्चायती निरङ्कुशता र राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको युग प्रारम्भ गर्‍यो” सन्देशमा भनिएको छ, “यो उपलब्धि नेपाली जनताको साहसिक संघर्ष र सहिदहरूको त्यागकै कारण सम्भव भएको हो ।”

मुलुकले राजनीतिक आन्दोलन र क्रान्तिमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको तर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको सन्देशमा उल्लेख छ ।