फागुन ६, काठमाण्डौं ।
मस्को — रुसले आवश्यक परेको खण्डमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको जनाएको छ । रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा रुस र अमेरिकी प्रतिनिधिबीच साउदी अरबमा वार्ता सुरू भएसँगै रुसी भनाइ सार्वजनिक भएको हो ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आवश्यक पर्याे भने पुटिनले नै युक्रेनसी जेलेन्स्की राष्ट्रपतिसँग वार्ता गर्न तयारु रहेको बताएका हुन् । तर जेलेन्स्कीको वैधानिकतामा प्रश्न उठाउन सक्ने वास्तविकतालाई ध्यानमा राख्दै सम्झौताहरूको कानुनी आधारमा छलफल आवश्यक छ, उनले भनेका छन् ।
तीन वर्षदेखि युक्रेनसँग जारी युद्ध अन्त्य गर्ने विषयमा रुसले अमेरिकी प्रतिनिधिहरूसँग मंगलबार वार्ता सुरू गरेको छ । साउदी अरबमा जारी वार्तामा रुसी टोलीमा विदेशमन्त्री सर्गेइ लाभरोभ र रुसी राष्ट्रपति भ्लादिमर पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभ सहभागी छन् । अमेरिकी टोलीमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ छन् ।
वार्तामा आयोजक साउदी अरबका तर्फबाट राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल(साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल–ऐवान सहभागी छन् । युक्रेनी पक्षलाई भने वार्तामा सहभागी गराइएको छैन ।