मृतक प्रकृति लम्सालको पोस्टमार्टम सम्पन्न, बुधबार नेपाल पठाउने तयारी
काठमाडौँ — भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा उत्पन्न तनाव साम्य हुन थालेको छ । कलेजका संस्थापक, उपकुलपतिदेखि रजिस्ट्रारसम्मले उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्नुका साथै क्षमा मागेपछि नेपाली विद्यार्थीहरू छात्रावासमा फर्किने क्रम सुरू भएको छ ।
मंगलबार साँझसम्म ६० जना नेपाली विद्यार्थी होस्टल फर्किसकेका छन् । दिल्लीस्थित नेपाली दूतावासबाट ओडिसा पुगेका कन्सुलर नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले स्थिति सामान्यतर्फ उन्मुख रहेको बताए । मृतक प्रकृति लम्सालको शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ । ओडिसा प्रहरीले कुनै कसर बाँकी नराखीकन घटना अनुसन्धान थालिएको प्रतिबद्धता नेपाली टोलीसमक्ष व्यक्त गरेको छ ।
मृतक विद्यार्थीको शव परिवारजनका साथ बुधबार नेपाल पठाउने तयारी गरिएको छ । कलेज प्रशासनले नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने, होस्टेलबाट अपमानपूर्ण तरिकाले निकाल्ने तीनजना कर्मचारीलाई निलम्बन गरेको तथा विद्यार्थीलाई कुटपिट गर्ने सुरक्षा गार्डलाई प्रहरीको जिम्मा लगाएको छ । एसएसपी शर्माले विद्यार्थीहरूले उठाएका सबैजसो मागलाई कलेज प्रशासनले स्विकार गरेको बताए ।
विद्यागर्थीको शैक्षिक कार्य, होस्टल बसाइ र सुरक्षासम्मको जिम्मा कलेजले लिएको उनको भनाइ छ । धेरैजसो विद्यार्थीले ओडिसा छाडेर सोमबारदेखि नै विभिन्न माध्यमबाट नेपाल फर्किन थालेकाले उनीहरूलाई फर्किन समय लाग्ने देखिन्छ ।