काठमाडौं । अमेरिकाले करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदान रकमको परियोजना रोकेको छ । नेपाल र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौताअनुसार नेपालमा परियोजना सञ्चालनका लागि अमेरिकाले दिने भनिएको अनुदान रोकिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशअनुसार सो रकम रोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
ट्रम्पले कुनै पनि अमेरिकी विदेशी सहायता रकम ९० दिनका लागि स्थगित गर्ने कार्यकारी आदेश जारी गरेका थिए । त्यसअनुसार यूएसएडका कार्यक्रमहरू रोकिएको यसअघि नै अर्थ मन्त्रालयले जनाएको थियो । तर, एमसीसीबारे भने अन्योल कायम रहेका बेला मंगलबार अर्थ मन्त्रालयले एमसीसीको रकम पनि रोकिएको जनाएको हो ।
एमसीसी र नेपाल सरकारको रकमबाट अन्तरदेशीय प्रसारण लाइन र सडक स्तरोन्नति परियोजना अगाडि बढाइएको थियो । यो परियोजना पाँच वर्षभित्र सक्ने गरी कामहरू धमाधम भइरहेका थिए । जग्गा अधिकरण लगायतका कामहरू भइरहेका बेला अनुदान रोकिएसँगै नेपालको संसदले समेत ठूलो कसरतका साथ अनुमोदन गरेको यो परियोजनाको भविष्य नै अन्योलमा परेको छ ।
विगतका वर्षहरुमा संसदबाट एमसीसी पास गर्न र लागू गर्नु हुँदैन भन्दै ठूला ठूला प्रदर्शन भएका थिए । तर प्रचण्ड, केपी र देउवाहरुले जबरजस्ती पास गराएका थिए ।
त्यसैले आज एमसीसी अन्तरगतका सबै परियोजन स्थगित भएको सूचना अर्थमन्त्रालयले जारी गरेसँगै एक किसिमको खुसियाली पैदा भएको छ ।
यो सूचना जारी भएसँगै एमसीसी विरोधी देशभक्त नेपालीहरुले सामाजिक सञ्जालमा खुसियाली व्यक्त गरेका छन् ।
एमसीसी अमेरिकी लगानीमा नेपालका नदिनालाहरुमा विजुली निकालेर भारतलाई बेचेर नाफा अमेरिकाले लैजाने परियोजना हो । जसका कारण नेपालीको भविष्य अन्धकार हुनेवाला थियो ।