फागुन ५, काठमाण्डौं । फागुन १२ गते सोमबारबाट नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले ‘जनतासँग माओवादी,तराई–मधेश जनजनगरण अभियान’ सुरु गर्ने भएको छ । पार्टीलाई २०६४ सालकै हैसियतमा फर्काउने लक्ष्यसहित माओवादी केन्द्रले अभियान सुरु गर्ने भएको हो । हुलाकी राजमार्ग केन्द्रीत अभियान १२ गते झापाको कचनकबलबाट सुरु भई कञ्चनपुरमा पुगेर समापन हुनेछ ।
हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा आयोजना हुने कार्यक्रममा अध्यक्ष प्रचण्डसहित पार्टीका पदाधिकारी सहभागी हुनेछन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेश समितिले अभियानका क्रममा पाँच जनालाई पार्टीमा संगठीत गर्ने लक्ष्य रहेको बताएको छ । माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) का अनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियानको उद्घाटन हुनेछ ।
बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट हुनेछ । फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभा हुनेछ । फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभा हुनेछ । फागुन महिनाभरी हुलाकी राजमार्ग केन्द्रीत प्रदेशस्तरीय अभियान सञ्चालन गर्ने उनले बताए ।
अभियानका क्रममा पाँच जनाजनालाई पार्टी प्रवेश गराउने लक्ष्य राखिएको उनले बताए । अभियानको क्रममा तराई चुरे जनसाङ्गीतिक अभियान ‘समाजवादी संस्कृति र चेतना जागरणको लागि तराई चुरे अभियान’ समेत संचालन गरिने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै माओवादी कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार)ले माओवादीलाई ६४ सालकै हैसियतमा फर्काउने योजना रहेको बताए ।
माओवादीले २०६४ सालमा झापा, मोरङ र सुनसरीको २२ सिटमा १० सिट जितेको थियो । अभियानका क्रममा २०६४ सालमा मतदान गरेका जनतालाई केन्द्रीत गर्ने बताएको छ । उनले ६४ सालमा माओवादीलाई मत दिने र उनीहरूका सन्तानलाई पनि अभियानका क्रममा संगठित गर्ने बताए । ‘हामी जनसम्बन्ध सुधार गर्न जान्छौं,’ उनले भने,‘ऐतिहासिक मिसनको सुरुवात पूर्वबाट भयो ।’
१२ बुँदे प्रस्ताव पारित
फागुन ३ गते बसेको माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद बैठकले १२ बुँदे प्रस्तावहरु पारित गरेको छ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणकार्यको बिरोधमा आन्दोलनरत पक्षलाई गोलिहानी घाइते बनाएको घटनाको घोर भत्सर्ना गरेको छ । माओवादीले केबलकारको विवाद तत्काल समाधान गर्न आग्रह गरेको छ ।
गत भदौ असोजको बर्षापछि आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई क्षतिपूर्ति दिन र भत्किएको पुल बाटोघाटो, खाने पानी, सिंचाई लगायतका भौतिक संरचना तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । किसानलाई मल उपलब्ध गराउन, दैनिक उपभोग्य बस्तु र रड, सिमेन्ट जस्ता निर्माण सामग्रीको आकासिदो मुल्यवृद्धि नियन्त्रण गर्न, प्रदेश सरकारले प्रेस स्वातन्त्रतालाई कुण्ठित गर्ने गरि ल्याएको आम संचार विधेयकका प्रावधान खारेज गर्न, कृषिउपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, औपचारिक क्षेत्रका श्रमिकहरुको ज्याला वृद्धी गर्न र अनौपचारिक क्षेत्रका मजदुरहरुको न्यूनतम ज्याला निर्धारण गर्न माग गरिएको छ । झापा मोरङ र सुनसरीमा जंगली हात्तीको आतंक नियन्त्रण गर्न माग गरेको छ । बाँदरबाट भइरहेको क्षतिलाई न्यूनीकरण गर्न पनि माग गरेको छ ।