काठमाडौं । तनहुँ पर्यटन प्रर्वद्वन समाजको अध्यक्षमा रुद्रसिंह ठकुरी निर्वाचित भएका छन् । दशौं वार्षिक साधारण सभाबाट ठकुरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै निर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरि लामिछाने, महासचिवमा केशवलाल श्रेष्ठ, सचिवमा प्रेमनाथ तिमल्सिना, कोषाध्यक्षमा प्रतिक जोशी, सहकोषाध्यक्षमा हिउँवाला प्रधान र सदस्यहरुमा राम थापामगर, शुसिल थापा, मिन थापामगर र सुजाता श्रेष्ठ रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले तनहुँमा ३ रात ४ दिनको ट्रेकिङ पदयात्रा रुट बनाएर पर्यटन विकासमा जोड दिन सकिने बताए । उनले त्यसका लागि आफूले निरन्तर लागिरहेको तर संघीय सरकारको पर्यटन मन्त्रालयले आवश्यक बजेट विनियोजन नगरिदिएको गुनासो गरे ।
त्यस्तै विशेष अतिथि एमालेकी भगवती न्यौपानेले तनहुँको विकासका लागि यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताएकी थिइन् ।
कार्यक्रममा शुभकामना दिँदै इष्टोनियाका अवैतनिक वाणिज्यदूत तथा टानका पूर्वअध्यक्ष नवराज दाहालले नेपाल सरकारले पर्यटन विकासमा खासै योगदान नदिएको भन्दै वर्षमा १० लाख ल्याउने सरकारको लक्ष्य पूरा नभएको बताए ।
कार्यक्रममा बोल्दै टानका अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रमा काम गर्न पर्यटन बोर्ड र मन्त्रालयले जवाफदेहितापूर्ण काम नगरेको आरोप लगाए ।