• बैशाख १७ २०८२, बुधबार

मौसममा बिहीबारसम्म बदली हुने, आज काठमाडौंमा दिनभर बादल

फाल्गुन ५ २०८१, सोमबार

फागुन ५, काठमाडौं । देशका अधिकांश स्थानमा सोमबार (फागुन ५) मौसम बदली (आकाशमा बादल) भएको छ । गएको शनिबारयता केही स्थानमा बादल, वर्षा र हिमपात भएको छ । आउँदो बिहीबारसम्म यस्तै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशमा बादल, वर्षा र हिमपातको सम्भावना छ । आज मधेसबाहेक अरू प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

‘तराई भूभाग भएका प्रदेशबाहेक अरू प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ,’ उनले भनिन् ।

यस दिन वर्षाको पनि सम्भावना छ । तराई (मधेस)बाहेक देशका सबै पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको उनले बताइन् । ‘तराईबाहेक सबै प्रदेशका पहाडी भूभागका एक–दुई, एक–दुई स्थानमा छिटपुट र हल्का वर्षाको सम्भावना छ,’ उनले भनिन् ।

हिमपात हुने उच्च पहाडी वा हिमालीभन्दा तल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेको उनले प्रस्ट पारिन् । बादल भने देशभरि नै लाग्ने उनले जानकारी दिइन् । ‘दिनभर बादलको सम्भावना छ,’ उनले भनिन, ‘राम्रोसित घाम लाग्दैन ।’

सोमबार काठमाडौंमा पनि दिनभर बदलीको सम्भावना छ । काठमाडौंमा वर्षाको खासै सम्भावना नरहेको उनले बताइन् । यहाँ पनि घामको सम्भावना कमै छ । ‘चरक्क घाम लाग्ने अवस्था छैन,’ उनले भनिन, “बदली नै हुने अवस्था छ ।’

यो मौसममा भोलि, पर्सि र आउँदो बिहीबारसम्मै खासै सुधारको अवस्था नरहेको उनले बताइन् । तर, प्रणाली धेरै मजबुत नभएकाले उल्लेख्य वर्षा र हिमपात नहुने उनको भनाइ छ ।