काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन् ।
आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौं विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको रोयटर्सको समाचारमा उल्लेख छ ।
बर्खास्तीमा पर्नेहरुमा अधिकांश परीक्षणकालमै रहेका कर्मचारीहरू रहेको भनिएको छ । बोस्टनको अदालतले कर्मचारीलाई निष्कासन गर्ने ट्रम्पको योजनामा यसअघि नै बाटो खुला गरिदिएको थियो । अदालतले ट्रम्प प्रशासनलाई इच्छुक कर्मचारीहरूलाई राजीनामा गराउने प्रक्रिया पुनः सुरू गर्न भनेको थियो ।
यद्यपि ट्रम्पले उक्त प्रक्रियामा अब निरन्तरता नहुने भनेका थिए । ट्रम्प प्रशासनले यसअघि स्वैच्छिक राजीनामा गर्न संघीय कर्मचारीहरुलाई इमेल पठाएको थियो । स्वैच्छिक राजीनामा गर्दा आगामी सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन पनि दिइएको थियो ।
त्यसरी इमेल पठाइएकामध्ये ७५ हजार कर्मचारीले राजीनामाको प्रस्ताव स्वीकार गर्दै इमेलको जवाफ फर्काएका थिए । अमेरिकामा २३ लाख संघीय कर्मचारी छन् ।
ट्रम्पले जिम्मेवारी सम्हालेपछि कर्मचारी प्रशासनको आकार घटाएर खर्च कटौती गर्ने उद्घोष गरेका थिए । त्यसको नियमनका लागि सरकारी दक्षता विभागका प्रमुख इलन मस्कलाई जिम्मेवारी दिएका थिए ।
केही दिनअघि ट्रम्पले कर्मचारी कटौतीको विषयमा मस्कसँग मिलेर काम गर्न अमेरिकी एजेन्सीहरूलाई निर्देशन दिँदै कार्यकारी आदेश जारी गरेका थिए ।
बर्खास्तीमा परेका कर्मचारीहरूले आफूहरू राज्यको धोखाधडीमा परेको गुनासो गरेका छन् । उनीहरूले मस्कको भूमिकाको वैधानिकतामा पनि प्रश्न उठाएको रोयटर्सले जनाएको छ ।