• फाल्गुन १ २०८१, बिहीबार

नयाँ जनवादी मोर्चाले मनायो जनयुद्ध दिवस, नयाँ जनवादी क्रान्तिमा जोड

फाल्गुन १ २०८१, बिहीबार

काठमाडौं । नयाँ जनवादी मोर्चाले ३०औं जनयुद्ध दिवस मनाएको छ । ललितपुरको सातदोबाटोमा ‘जनयुद्धको महानता एवं नेपाली जनवादी क्रान्तिको कार्यभार’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरी जनवादी मोर्चाले जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा मोर्चाका अध्यक्ष अशोक शर्माले दश वर्षको जनयुद्ध नेपालको सर्वहारा क्रान्ति र वर्गसंघर्षको असाध्यै महत्वपूर्ण परिघटना भएको बताए । उनले तत्कालीन नेकपा (माओवादी)ले नेतृत्व गरेको जनयुद्ध माओवादी पार्टीको मात्र नभएर सम्पूर्ण जनसमुदायको मुक्ति र स्वतन्त्रताको संघर्ष र युद्धमा परिणत भएको बताए ।

कार्यक्रममा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शर्माले माओवादी आन्दोलनको तत्कालीन नेतृत्वले षड्यन्त्रपूर्ण ढंगबाट जनयुद्धमाथि गम्भीर अन्तरघात गरिसकेपछि जनयुद्धको प्रक्रियामा विकास भएको जनसत्ता विघटन गरेको, जनअदालत, जनसेना र हतियार सबै बुझाएर जनतालाई निरिह र कमजोर बनाएको उल्लेख गरेका छन् ।

शर्माले यसबाट प्राप्त नकारात्मक अनुभव र विश्लेषणबाट सकारात्मक शिक्षा र संश्लेषण गर्दै नयाँ ढंगले कम्युनिष्ट आन्दोलिन विकास हुने बताएको मोर्चाका उपाध्यक्ष विष्णु खड्काले जानकारी दिए ।

आन्तरिक तथा बाह्य दुवै हिसावले राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवादलाई वर्तमानको विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख समस्या बताएका शर्माले सम्झौताहीन दुई लाइन संघर्षको बीचबाट नै कम्युनिष्ट आन्दोलनको रक्षा, प्रयोग र विकास गर्न सकिने जिकिर गरेका छन् ।

अध्यक्ष शर्माले राजनीतिक प्रतिवेदनमा सर्वहारा अधिनायकत्वका लागि दीर्घकालीन जनयुद्ध र बल प्रयोगको सिद्धान्तमा आधारित नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको उल्लेख गरेको उपाध्यक्ष खड्काले बताए ।