• बैशाख १७ २०८२, बुधबार

आठ वर्षपछि हुन लागेको च्याम्पियन्स ट्रफीमा कुन टोली कस्ता रु

फाल्गुन १ २०८१, बिहीबार

१ फागुन,काठमाडौं । पाकिस्तानमा आगामी सातादेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ । आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्वकप’मा आठ टोलीहरू सहभागी रहनेछन् । दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो ।

समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् । पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने सन् २००९ मा अस्ट्रेलियाले जितेको थियो ।

सन् १९९८ देखि नकआउट ट्रफीको नामले सुरू भएर २००२ देखि च्याम्पियन्स ट्रफी नाम दिइएको प्रतियोगिताको उपाधि सर्वाधिक जित्ने टोली भारत र अस्ट्रेलिया हुन् । भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि बाँडेको थियो भने सन् २०१३ मा टी२० फम्र्याटमा भएको प्रतियोगिता जितेको थियो । त्यस्तै अस्ट्रेलियाले सन् २००६ र सन् २००९ मा लगातार उपाधि जितेको थियो । त्यसयता भएका दुई संस्करणमा भने अस्ट्रेलियाले राम्रो प्रदर्शन गर्न सकेन ।

आईसीसी प्रतियोगितामा सर्वाधिक सफल टोली अस्ट्रेलियाले आईसीसीका हरेक प्रतियोगिता कम्तिमा एकपटक जित्ने एकमात्र टोली हो । आगामी साता सुरू हुन लागेको च्याम्पियन्स ट्रफी क्रिकेटका लागि सबै राष्ट्रहरूले अन्तिम टोली घोषणा गरिसकेका छन् । केही स्टार खेलाडीहरूले प्रतियोगिता गुमाउने पनि छन् । लामो समयको अन्तरालपछि हुन लागेको यस प्रतियोगिता खेल्ने कुन टोली कस्ता छन् त रु आज कुरा गर्नेछौं ।
पाकिस्तान
पाकिस्तान आयोजक एवम् डिफेन्डिङ च्याम्पियन हो । सन् २०१७ को फाइनलमा भारतमाथि शानदार जित निकाल्दै पाकिस्तानले उपाधि उचालेको थियो ।
भारत
सन् २०११ मा पछिल्लोपटक ५० ओभरको आईसीसी प्रतियोगिता जितेको भारतले सन् २०१३ मा टी–२० फम्र्याटमा भएको च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।
अस्ट्रेलिया
आईसीसी हरेक प्रतियोगिताहरूमा अस्ट्रेलियन टोली मुख्य दाबेदारका रूपमा रहने गर्छ । ६ पटक एकदिवसीय विश्वकप, दुईपटक च्याम्पियन्स ट्रफी र एक९एक पटक टेस्ट च्याम्पियनसिप तथा टी–२० विश्वकप जितेको इतिहास अस्ट्रेलियासँग छ ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिका आईसीसीका प्रतियोगिताहरूमा अभागी टोलीको रूपमा ठहरिने गरेको छ । सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा पुगेर पराजित भएको दक्षिण अफ्रिकी टोली सन् २०२४ को टी–२० विश्वकप फाइनलमा पनि जितको नजिक पुगेर पराजित भएको थियो ।
न्युजिल्याण्ड
दक्षिण अफ्रिकाजस्तै अर्को अभागी टोली हो न्युजिल्याण्ड । सान्त्वनाका लागि भन्नुपर्दा न्युजिल्याण्डले आईसीसीको टेस्ट च्याम्पियनसिप भने जितेको छ । च्याम्पियन्स ट्रफी भने सन् २००० मा जितेको थियो । विश्वकप र अन्य प्रतियोगिता भने जित्न बाँकी छ ।
इंग्ल्याण्ड
क्रिकेटको सुरूवात भएको देश भएपनि लामो समयको पर्खाइपछि सन् २०१९ मा एकदिवसीय विश्वकप जितेको इंग्ल्याण्डले हालसम्म च्याम्पियन्स ट्रफीको उपाधि भने जितेको छैन । आईसीसीका प्रतियोगिताहरूमा इंग्ल्याण्डले त्यति सुदृढ प्रदर्शन गर्न सकेको हुँदैन ।
बंगलादेश
बंगलादेशको टोलीले हालसम्म आईसीसीको कुनैपनि मुख्य प्रतियोगिता जित्न बाँकी छ। बंगलादेश क्रिकेट टिम पछिल्लो समय त्यति लयमा देखिएको छैन ।
अफगानिस्तान
अफगानिस्तानले च्याम्पियन्स ट्रफीमा पहिलोपटक खेल्न लागेको हो । पछिल्लो समय निकै उच्च स्तरको प्रदर्शन गरिरहेको अफगानिस्तान जुनसुकै आईसीसी प्रतियोगितामा पनि बलियो टोलीलाई चुनौती दिन सक्ने टोलीका रूपमा हेरिने गरेको छ ।