काठमाडौं । विश्वभर कृयाशील क्रान्तिकारी पत्रकार तथा लेखकहरुको साझा संगठन अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले नेपालमा २०५२ सालदेखि २०६२ सालसम्म चलेको माओवादी जनयुद्धका आज ३०औं वर्षगाँठको अवसरमा एक विज्ञप्ति जारी गर्दै एक्यवद्धता प्रकट गरेको छ ।
सो संगठनका तर्फबाट अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा गणतन्त्र स्थापना गर्न ठूलो भूमिका खेलेको भन्दै माओवादी जनयुद्धको ३०औं वर्षगाँठको अवसरमा एक्यवद्धता जनाएका छन् ।
विज्ञप्तिमा केसीले फागुन १ गते नेपालको राजनीतिक इतिहासमा एक ऐतिहासिक दिन भएको भन्दै देशभर मनाउन थालिएको ३०औं जनयुद्ध दिवसमा आफ्नो संगठनको पनि एक्यवद्धता रहेको जनाएका छन् ।
तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धको माध्यमबाट साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका आडभरोसामा टिकेको तत्कालीन राजतन्त्रात्मक बहुदलीय राज्य व्यवस्थालाई ध्वंस गरेर त्यसको ठाउँमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना गरि वैज्ञानिक समाजवादहुँदै वैज्ञानिक साम्यवादमा पुग्ने उद्धेश्यसहित जनयुद्धको थालनी गरेको थियो ।
विज्ञप्तिमा केसीले जनयुद्ध नेपाली समाजलाई राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक समेतको आमूल परिवर्तन गर्ने वर्गयुद्ध भएको उल्लेख गर्दै यसले २४० वर्षे सामन्ती राजतन्त्रको अन्त्य गरी सिमित प्रजातान्त्रिक अधिकार सहितको संघीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्ने उपलब्धि हासिल गर्न मात्र सफल भएको बताएका छन् ।
उनले आज सबैखाले प्रतिक्रियावादीहरु, दक्षिणपन्थी संशोधनवादीहरु, नवसंशोधनवादीहरु, छद्म संशोधनवादीहरु जनयुद्धलाई विद्रुपिकरण गर्न कम्मर कसेर लागि परेको भनेका छन् ।
उनले जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापना गर्नका निम्ति टुटफुट र विभाजित अवस्थामा रहेका क्रान्तिकारी धाराका क्रान्तिकारी माओवादी पार्टीहरु र व्यक्तिहरु एकताबद्ध भएर बढेमा मात्र सच्चा जनयुद्ध दिवस मनाउनुको सार्थकता रहने पनि उल्लेख गरेका छन् ।