• माघ ३० २०८१, बुधबार

विद्युत प्राधिकरणका कारण मेलम्चीको पाइप फुट्यो : खानेपानी लिमिटेड

माघ ३० २०८१, बुधबार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीले बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ । आफूहरुसँग सहकार्य नगरी तार भूमिगत गर्नेक्रममा मेलम्चीको पाइपमा क्षति पुगेको केयूकेएलका अधिकारीहरुको दाबी छ ।

‘पाइप फुट्नुमा थर्डपाटी जिम्मेवार छ,’ केयूकेएलका प्रवक्ता प्रकाश राईले भने, ‘त्यो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । त्यहीबेला पाइपमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।’

तर केयूकेएलका अधिकारीको यो भनाइमा नेपाल विद्युत् प्राधिकरणका अधिकारीको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

आज दिउँसो बबरमहलको वन परिसर अगाडिको सडक छेउँमा मेलम्चीको पाइप फुटेको थियो । केयूकेएलका अधिकारीका अनुसार ६०० एमएम (करिब दुई फिट डायमिटर)को पाइप फुटेको छ ।

बाढीजसरी पानी बग्दा बबरमहल क्षेत्रका सरकारी कार्यालयहरु डुबानमा परेका छन् । सो क्षेत्रमा वन परिसरका साथै विशेष अदालत, काठमाडौं जिल्ला अदालत (दोस्रो भवन) लगायतका कार्यालय परिसर जलमग्न भएका छन् ।

पानी अनियन्त्रित भएर बग्दा अदालतका पेशी स्थगित गर्नुपरेको थियो भने सरकारी कार्यालयका कामकाज पनि प्रभावित भएको थियो ।