• माघ ३० २०८१, बुधबार

एक महिने स्वस्थानी व्रत समापन

माघ ३० २०८१, बुधबार

काठमाडौँ ।  एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि व्रत समापन गरिएको हाे।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य हुनेछ ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिएको छ ।