• माघ २९ २०८१, मंगलवार

प्रेम सप्ताह,किन मनाइन्छ `भ्यालेन्टाइन डे´ ?

माघ २९ २०८१, मंगलवार

प्रेमी प्रेमिकाको लागि विशेष दिन साँच्चिकै महान् दिन हुँदो रहेछ `भ्यालेन्टाइन डे´ । एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ `भ्यालेन्टाइन डे´ ।

प्रेम दिवसलाई एक प्रकारको प्रेम सप्ताहकै रूपमा पनि मनाउने चलन छ । मलाई प्रेम दिवसले आफ्नै विगत, कलेजका दिनहरू सम्झाउँछ । प्रेम सप्ताह सुरु भएपछि कलेजमा छुट्टै रमाइलो माहोल सिर्जना हुन्थ्यो । कलेजमा हुने गरेका क्रियाकलापले मस्तिष्कमा अझ बढी छाप छोड्दो रहेछ । कैयौँ समयदेखि मन पराएका तर प्रेम प्रस्ताव राख्न नसकेका मेरा साथीहरू यसै समयको पर्खाइमा हुन्थे । प्रेम नै ठुलो शक्ति रहेछ भन्ने मनमा लाग्दथ्यो र मन परेकी युवतीलाई प्रपोज गर्ने उपयुक्त समय ठानिन्थ्यो । कसैले प्रपोज गरेर स्वीकार भएको खण्डमा खुसीयालीमा नजिकका साथीहरूलाई खाजा नास्ताको व्यवस्था गर्नुपर्थ्यो । खाजा ख्वाउन आलटाल गरे कुरा लगाएर टुटाइदिन्छौ भनेर जिस्काउँदा पनि रमाइलो वातावरण बन्दथ्यो । स्कुलको समयमा मन परेको साथीलाई प्रेम प्रस्ताव राख्न लाजले कागजमा लेखेर सुटुक्क उसको किताबको बिचमा राखिन्थ्यो । अर्को दिन के पो हुने हो भन्ने मनमा डरको घण्टी बजिरहन्थ्यो । आफूले मन पराएको समाचार साथीमार्फत सम्बन्धित व्यक्तिमा पुर्‍याउनु, लभ लेटर लेख्नु जस्ता कुराहरू आज पनि सम्झनामा ताजै छन् ।

विश्वभर मनाइने प्रेम दिवस विभिन्न उपहार, कार्ड, फुल तथा अन्य प्रेमका प्रतीकहरू दिएर एकअर्काबीच प्रेम साटासाट गरिन्छ । आधुनिकतामा लम्किरहेका युवायुवतीहरू प्रेम दिवसको अवसरमा आफ्नो प्रियलाई शुभकामनाका साथै उपहार दिएर यो दिनलाई सार्थक पार्छन् । यस दिन विशेष गरी गिफ्ट पसलहरूमा युवायुवतीहरूले जोडी अंकित मूर्ति, चकलेट, फुल तथा मायाको प्रतीक जनाउने गिफ्ट खरिद गर्नेहरूको भीड हुन्छ । प्रेम दिवसको अवसरमा करोडौँको व्यापार हुने गर्दछ ।

यस अवसरमा विभिन्न उपहार कार्डसहित विशेष रूपमा रातो गुलाफको फुल दिने चलन छ । किनकि रातो गुलाफलाई प्रेम र क्षमताको प्रतीकको रूपमा मानिन्छ । यस दिवसको दिन किनेर दिएको गुलाफको फुल भन्दा आफैले टिपेर वा चोरेर दिएको गुलाफको फुलको विशेष महत्त्व राख्दछ भन्ने भनाइ पनि छ । तर यस्तो मान्यताले गलत कामलाई बढावा दिन्छ ।

हुन त प्रेम कुनै विशेष जात, धर्म, उमेर, समुदाय र वर्गमा आधारित नहुने हुँदा प्रेमको महत्त्व सबैमा उत्तिकै रहेको पाइन्छ । प्रेम दिवसलाई अझै उल्लासमय र प्रेममय दिन बनाउन अहिले सामाजिक सञ्जालको पनि ठुलो भूमिका छ ।

सप्ताहकै रूपमा भ्यालेन्टाइन डे
भ्यालेन्टाइन डे लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ । यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ  जाने गर्छन्  । प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ ।