• चैत्र २६ २०८१, बुधबार

अध्यादेशबाट शासन चलाउनु निरंकुशतातिर प्रस्थान गर्नु हो : शेखर कोइराला

माघ २८ २०८१, सोमबार

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको टिप्पणी गरेका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको भन्दै उनले लोकतन्त्रमा सकेसम्म संसद्बाट नै ऐन, कानुन बनाउनु पर्ने जिकिर गरे ।

‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो । हुनतः नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति म नै हो । ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो,’ उनले भने ।

दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताउँदै उनले गलतलाई गलत भन्न नसक्ने हो भने कांग्रेसको औचित्य सकिने बताएका छन् ।