हरेक मान्छे कर्मशील बन्नु पर्छ भन्ने गरिन्छ । वास्तवमा कर्म भनेको के हो ? कर्म भन्नाले व्यक्तिले गर्ने काम, क्रिया वा कार्यलाई बुझ्नु पर्दछ । कर्म शब्द संस्कृत भाषाबाट आएको हो । कर्म शब्द हिन्दु, बौद्ध, जैन र अन्य थुप्रै धर्महरुसँग गहिरो अर्थ राख्दछ । कर्मको फलले नै मान्छेले आफ्नो भोगाई प्राप्त गर्दछ । त्यो भोगाई सकरात्मक पनि हुन्छ र नकरात्मक पनि हुनसक्छ ।
विश्वको प्राचीन सनातन धर्मको पछिल्लो संस्करण हिन्दु धर्मलाई मानिएको छ । हिन्दु धर्ममा कर्मले मानिसको जन्म, मृत्य र पुनर्जन्मलाई प्रभाव पार्दछ भन्ने मान्यता रहेको पाइन्छ । राम्रो अथवा उत्कृष्ट कर्मले मोक्ष (मुक्ति) समेत प्राप्त गर्दछ भने खराब कर्मले दुःख वा पुनर्जन्मको चक्रलाई निरन्तरता दिन्छ भन्ने मान्यता रहेको छ ।
बौद्ध धर्ममा आफूले गरेको धर्म अनुसार कर्मले मानिसको भविष्यलाई निर्धारण गर्दछ । र यसले दुःख र सुखको कारण बन्दछ भने गरिन्छ । यस धर्मले कर्मबाट मुक्ति पाउन ध्यान, ज्ञान र नैतिकवान हुन निकै प्रोत्साहित गर्दछ ।
जैन धर्म अनुसार कर्मलाई एक प्रकारको पदार्थको रुपमा लिएको पाइन्छ । जुन कर्मले आत्मा चिप्लिन्छ र पुनर्जन्मलाई प्रभावित गर्दछ भन्ने मान्यता छ । जैन धर्मले कार्यबाट मुक्ति पाउन अहिंसा, सत्य र ध्यान वा तपस्या जस्ता नियमहरु राम्ररी पालना गर्न सिकाउँछ ।
जे होस् कर्मको अवधारणा प्रत्येक व्यक्तिलाई आफ्नो कार्यहरूको जिम्मेवारी लिनु पर्दछ भन्ने सिद्धान्तमा
केन्द्रित छ । कर्मले नै मानिसलाई नैतिक र धार्मिक जीवन जिउन हरेक प्रकारले प्रोत्साहित गर्दछ । ‘वाद’ भनेको कुनै शब्दको पछाडी अर्थ दिने गरि जोडिने प्रत्यय हो । जसले शब्दको अर्थलाई विशेष सिद्धान्त, विचारधारा, दर्शन वा व्यवस्थाको रूपमा बिस्तार गर्दछ ।
उदाहरणका लागि स्वच्छन्दतावाद, राष्ट्रवाद, नारीवाद, जनवाद, उदारवाद र कर्मवाद आदि । न्यायदर्शनका अनुसार ‘वाद’ न्यायका सोह्र (१६) पदार्थहरू मध्ये एक मानिएको छ । जसले दई पक्षबीच तर्क र प्रमाणको आधारमा शास्त्रार्थ गर्दछ ।
यसले कुनै विषयको महत्व, विशेषता, उपयोगिता तथा लाभहानीका बारेमा व्याख्या गरि निर्णय दिन सहजता दिन्छ । त्यसैले ‘वाद’ शब्दले कुनै विशेष विचारधारा वा सिध्दान्तलाई जनाउँदछ, जसले समाजमा विशेष पक्ष वा दृष्टिकोणलाई प्रस्तुत गर्न सहज हुन्छ ।
कर्मवाद भन्नाले कुनै पनि व्यक्ति वा समूहले गरेका आफ्ना कार्यहरूको परिणाम स्वरूप प्राप्त हुने प्रतिक्रिया, फल वा प्रभावलाई बुझाउँदछ । कार्यवादलाई नैतिकता र न्यायसँग जोडेर हेरिन्छ । यसले हरेक व्यक्तिको आफ्ना कार्यहरूको जिम्मेवारी लिइ सही र गलतको बीच फरक छुट्याइन्छ । वास्तवमा कार्यवादको अवधारणा धार्मिक, दार्शनिक र सामाजिक तथा नैतिक दृष्टिकोणबाट एकदमै महत्वपूर्ण मानिन्छ ।
गौतम बुद्धले दिएका कर्मको शिक्षा सिद्धान्तलाई नै बुद्धको कर्मवाद भन्ने बुझाउँदछ । बौद्ध शिक्षा अनुसार कर्म भनेको मानिसले गर्ने कार्यहरु हो र यी कार्यहरूका फल जसलाई विपाक भनिन्छ । त्यो अवश्य रुपमा प्राप्त हुन्छ ।
बौद्ध धर्ममा अष्टाङ्गिक मार्गको एक महत्वपूर्ण अंग सम्यक कर्म हो । जुन मार्गले मानिसलाई दुःखबाट मुक्त हुने र आध्यात्मिक जागरण प्राप्त गर्ने मार्ग प्रदान गर्दछ । सम्यक कर्मले नैतिक र सदाचारी जीवन बिताउन सधै प्रोत्साहित गर्दछ । हरेक मानिसलाई हिंसा, अन्याय र अनैतिक कार्यबाट सधै टाढा रहन प्रोत्साहन गर्दछ ।
सम्यक कर्मका मुख्य तत्वहरू मध्ये पहिलो तत्व अहिंसा हो । यस तत्वले सबै प्राणीहरू प्रति दया, करुणा राख्ने र कसैलाई पनि शारीरिक, मानिस वा भावनात्मक रूपमा कुनै हानी नपुर्याउनु हो । सम्यक कार्मका दोस्रो तत्व चोरी नगर्नु हो । कसैको सम्पत्ति वा धनलाई अन्यायपूर्ण रूपमा लिनु हुँदैन । यस तत्वले हरेक व्यक्तिलाई इमान्दारी र न्यायप्रति निष्ठावान बनाउँदछ ।
सम्यक कर्मको तेस्रो तत्व भनेको कामुक दुर्व्यवहारबाट टाढा बनाउनु हो । यस तत्वले यौन सम्बन्धमा नैतिकता र सबैमा सम्मान व्यवहार कायम गर्ने गर्दछ । कसैलाई बलात्कार गर्न तथा अनैतिक यौन कार्यहरूबाट टाढा रहन सिकाउँदछ ।
साँच्चिकै भन्ने हो भने सम्यक कर्मले हरेक मानिसलाई आफ्नो कार्यहरुप्रति सचेत र जिम्मेवार बनाउँछ । यसले समाजमा नैतिकता र सद्भावना कायम गरी बुद्धले सिकाए अनुसार दुःखबाट मुक्ति पाउने र आध्यात्मिक विकासको मार्गमा अगाडी बढाउँछ ।
बुद्धको भनाई अनुसार प्रत्येक कार्यको फल हुन्छ । सकरात्मक कार्यले सकरात्मक फल दिन्छ भने नकरात्मक कार्यले नकारात्मक फल प्राप्त हुन्छ । बुद्धको कर्मवाद सिद्धान्त अनुसार कर्मले मानिसलाई पुनर्जन्ममा प्रभाव पार्दछ । असल कर्मले उच्च जन्म र सुख प्रदान गर्छ भने खराब कर्मले निम्न जन्म तथा दुःख प्रदान गर्दछ ।
बुद्धको कर्मवाद भन्नाले हाम्रा प्रत्येक क्रियाकलाप वा कर्मले हाम्रो वर्तमान र भविष्य निर्धारण गर्छन् भन्ने सिद्धान्तलाई बुझिन्छ । बौद्ध दर्शनमा कर्मको अर्थ कार्य हो जसले हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पर्दछ ।
बुद्धले कर्मलाई कार्यकारणको सिद्धान्तमा आधारित मानेका छन् । जस अनुसार हाम्रा हरेक क्रियाले परिणाम उत्पन्न गर्छन् । बुद्धले कर्मलाई भाग्य वा नियतिवादसँग जोडेको पाइँदैन । उनले त्यसको बदला वर्तमानमा गरिने कर्मले भविष्यलाई प्रभावित गर्ने कुरा व्यक्त गरेका छन् । बुद्धका अनुसार कर्मभन्दा माथि कोही छैन र बुद्ध आफै पनि कर्मको नियममा बाँधिएका थिए ।
वास्तवमा बुद्धको कर्मवादले हामीलाई हाम्रा क्रियाकलापहरुको महत्व बुझ्न र असल कर्मगर्न प्रेरित गर्ने र जीवनमा सकरात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने कुरा स्पष्ट छ ।