• माघ २६ २०८१, शनिबार

दिल्लीमा भाजपाको बहुमत, केजरीवालले पनि हारे चुनाव

माघ २६ २०८१, शनिबार

माघ २६, काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत ल्याउने निश्चित भएको छ । बुधबार सम्पन्न मतदानको मतगणना शनिबार बिहानदेखि सुरू भएको थियो । दिउँसोसम्मको नतिजाले यसपालि दिल्लीमा भाजपाले बहुमत ल्याउने निश्चित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अपराह्नसम्मको मतपरिणामअनुसार ७० मध्ये ८ सिटमा भाजपा उम्मेदवार विजयी भएका छन् भने ४१ सिटमा अग्रता लिइरहेका छन् । त्यस्तै आम आदमी पार्टीका उम्मेदवार ८ सिटमा विजयी र १३ सिटमा अग्रता लिइरहेका छन् । कंग्रेस आईले कुनैपनि सिटमा जित र अग्रता लिएको छैन ।

दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित भएका छन् । केजरीवाललाई भाजपाका प्रवेश शाहिब सिंहले पराजित गरे । उनले ३० हजार २४ मत ल्याएका छन् । त्यो भनेको कुल खसेको मतको ४८.८५ प्रतिशत हो ।

केजरीवालले २५ हजार ९२५ मत पाए । त्यो भनेको ४२.१८ प्रतिशत हो । कंग्रेस आईका सन्दीप दिक्षितले ४ हजार ५४१ मत ल्याए । उनले ७.३९ प्रतिशत मत पाए । यसअघि २०२० मा अरविन्द केजरीवालले ४६ हजार ७५८ मत ल्याएका थिए ।  त्यतिबेला भाजपाका सुनिलकुमार यादवले २५ हजार ०६१ मत ल्याएका थिए ।

भारतीय नेशनल कंग्रेसका ३ हजार २२० मत मात्रै ल्याएका थिए । त्योभन्दा अगाडि २०१५ मा केजरीवालले ५७ हजार २१३ मत ल्याएका थिए । त्यतिबेला भाजपाका नुपुर शर्माले २५ हजार ६३० मत पाएकी थिइन् भने किरण वालियाले ४ हजार ७८१ मत ल्याएका थिए । दिल्लीमा सन् २०१५ र सन् २०२० मा आम आदमी पार्टीले बहुमत ल्याएको थियो ।

२०१५ मा ७० मध्ये ६७ सिट र २०२० मा ७० मध्ये ६२ सिट आम आदमी पार्टीले जितेको थियो । केजरीवाल मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमागत मार्च २१ मा पक्राउ परेका थिए । त्यतिबेला लोकसभा चुनावको मुखमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आम आदमी पार्टीका नेता पक्राउ र कंग्रेस आईको बैंक खाता रोक्का गरिदिएको थियो ।

त्यसले नागरिकहरू दिल्लीमा मोदी र भाजपालाई हेर्ने दृष्टीकोण नकारात्मक हुने र यसले कंग्रेस र आपलाई चुनाव जिताउने विश्लेषण थियो । सर्वेक्षणहरूले आप र भाजपाबीच कडा प्रतिस्पर्धा हुने प्रक्षेपण गरेको थियो । नतिजा भने त्यसको उल्टो आउने निश्चित भएको छ ।