• माघ २५ २०८१, शुक्रबार

विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु, २० जना अस्पताल भर्ना

माघ २५ २०८१, शुक्रबार

काठमाडौं । टर्कीको राजधानी अंकारामा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत छन् ।

टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ । यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशंकामा ३२ जनालाई हिरासतमा लिइएको छ ।

अंकारा प्रान्तीय गभर्नरको कार्यालयले मंगलबार विषाक्त रक्सीको प्रयोगको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो । अन्य सहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ ।

इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तीमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो । अधिकांश मृत्यु मिथेनोल विषाक्तताको कारणले हुन्छ ।

टर्कीका अधिकारीहरूले विषाक्त मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्न प्रयासहरू तीव्र पारेका छन् । साथै, अधिकारीहरूले जनतालाई इजाजत नभएका पेय पदार्थहरूबाट बच्न आग्रह गरेका छन् । रासस/सिन्ह्वा