• माघ २४ २०८१, बिहीबार

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

माघ २४ २०८१, बिहीबार

माघ २४, काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।

आजको बैठकमा सरकारले ल्याएका अध्यादेशहरू प्रस्तुत हुने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यसअघि सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत हुनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो अध्यादेश प्रस्तुत गर्ने छन् ।

यसै गरी अध्यादेशहरू अस्वीकृत गरियोस् भन्ने सूचना प्रस्तुत हुने र त्यसपछि अध्यादेश प्रस्तुत हुने कार्यसूची तय गरिएको छ । त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको बैठकमा बजेटको अर्धवार्षिक समीक्षा पेस गर्ने कार्यसूची छ ।

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसे तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।