प्राय: सबै मानिसहरुको मोह गहनाप्रति भएको पाइन्छ । गहना खरिद गरेर त्यसलाई लगाएर मात्र हुँदैन । गहनाको उचित स्याहार पनि उत्तिकै आवश्यक छ ।
प्रदूषणयुक्त वातावरण, धूवाँ तथा पसिनाले गर्दा गहनाको चमक कम हुन्छ । गहना सुन, चाँदी, हीरा, प्लेटिनियम आदि जुनसुकै धातुको भए पनि उपयुक्त तरिकाले त्यसको सरसफाइ गर्नुपर्छ । गहनाको सफाइ नगरे त्यो खिइने,चमक हराउने गर्दछ । चमक नभएको गहना लगाउँदा सुहाउँदैन भने त्यसले आफ्नो व्यक्तित्वमा समेत असर पुर्याउन सक्छ । त्यसैले पनि गहनाको चमक सधैं कायम राख्नुपर्छ ।
सुनका गहनाको सफाइमा डिटरजेन्ट प्रयोग गर्नुहुँदैन । रसायनिक क्लिनिङ पनि पटक-पटक गराइरहनु हुँदैन । सुनका गहनाको सफाइपछि त्यसलाई सुतीको कपडाले पुछ्नुपर्छ । सुनका गहना कोमल हुने भएकाले कोरिने सम्भावना बढी हुन्छ । त्यसैले बिस्तारै हल्का हातले सफा गर्नुपर्छ । सुनका गहनालाई जहिले पनि सुख्खा डब्बाभित्र राख्नुपर्छ । ओसले गहनाको चमकमा असर पुर्याउँछ ।