माघ २२, काठमाडौं । त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा नेपालले थाइल्यान्डविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।
थाइल्यान्डले ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङको निम्तो पाएको हो । थाइल्यान्डविरुद्धको खेलमा नेपालकी रचना कुमारी चौधरीले डेब्यु गरेकी छिन् । रचनाले नेपालको यु–१९ टिमबाट महिला विश्वकप खेलेकी थिइन् ।
थाइल्यान्डविरुद्धको खेलमा सीता राना मगर पनि आज टिममा छैनन् । उनको स्थानमा रोमा थापालाई मौका दिइएको छ । जारी सिरिजमा नेपालले लगातार तीन पराजय भोगेको छ । त्यसैले पनि थाइल्यान्डविरुद्धको आजको खेलमा जित निकाल्नै पर्ने दबामा नेपाली टिम छ ।