• बैशाख १८ २०८२, बिहीबार

मनाइयाे लमजुङको भगवान आधारभूत विद्यालयको स्वर्ण जयन्ती, स्तरोन्नती गर्न ७० लाख चन्दा संकलन

माघ २१ २०८१, सोमबार

काठमाडाैं । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नम्बर ६ को कीर्तिपुर बेसीमा अवस्थित श्री भगवान आधाभूत विद्यालयको ५०औं स्वर्ण जयन्ती धुमधामका साथ मनाइएको छ ।

विद्यालयको स्वर्ण जयन्ती समारोहको यही माघ १२ गते नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । मन्त्री गुरुङले सो अवसरमा भगवान आधारभूत विद्यालयको स्वर्ण स्तम्भको पनि अनावरण गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथिको तर्फबाट बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सबै विद्यालयले व्यवसायिक शिक्षा लागु गर्नुपर्नेमा जोड दिए । उनले सरकारले पनि व्यवसायिक शिक्षा दिनेतिर लागिपरेको भन्दै विद्यार्थीलाई जे विषयमा रुची हुन्छ त्यही विषय पढाउनु पर्ने बताए । साथै उनले विद्यार्थीहरुलाई पढ्ने विषय थोपर्न नहुने भन्दै भगवान आधारभूत विद्यालयबाटै चर्चित कलाकार र खेलाडीहरु निस्कन सक्ने बताए ।

सो समारोहमा पूर्वसंविधानसभा सदस्य तथा एमालेका नेता जमिन्द्रमान घलेले शिक्षा सबैभन्दा ठूलो सम्पति भएको भन्दै शिक्षाको जग बलियो भयो भने मात्र भावी लक्ष्य हासिल गर्न सकिने बताए ।

उनले भगवान आधाभूत विद्यालय पनि नमूना विद्यालय बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । एक प्रसंगमा नेता घलेले आँटेपछि जुन काम पनि गर्न सकिन्छ भन्दै एकतावद्ध भएर लागेपछि शिक्षा क्षेत्रमा विकास गर्न सकिने बताए ।

सो कार्यक्रमका अर्का वक्ता तथा एमालेबाट गण्डकी प्रदेशका सांसद यसोदा रिमालले संविधानमै माविसम्मको शिक्षाको जिम्मा स्थानीय निकायलाई दिइएकोले आधारभूत प्राविलाई पनि स्तरोन्नती गरेर मावि बनाउन सकिने बताइन् ।

मन्तव्यकै क्रममा उनले नेपालका सामुदायिक विद्यालयको शिक्षा कमजोर भएको स्वीकार्दै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नु चिन्ताको विषय रहेको बताइन् । स्थानीय निकायले शिक्षाको जिम्मा लिएकाले यस आधारभूत विद्यालय पनि माविमा स्तर उन्नती हुनेमा आफू आशावादी रहेको बताइन् ।

कार्यक्रमका अर्का वक्ता तथा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामा रहेका ताल, नदिनाला, हिमालहरुको संरक्षण गरी पर्यटनको विकास गर्नमा आफू र गाउँपालिका लागेको बताए । उनले स्थानीय स्तरमा रहेको भेडीगोठ र बाख्रागोठहरुलाई व्यवस्थित गरिने पनि बताए ।

अध्यक्ष अधिकारीले सो अवसरमा शिक्षा र पर्यटन क्षेत्र सँगसँगै जाने विषय भएको भन्दै पर्यटकहरुको सुविधाको लागि गाउँपालिकाले नक्सा छापिएको पुस्तक प्रकाशन गरिएको पनि जानकारी दिए । पर्यटकहरुको हितलाई ध्यानमा राखेर विभिन्न स्थानहरुमा धर्मशालाहरु पनि निर्माण गरिएको उनले सुनाए । एक प्रसंगमा उनले स्थानीय स्तरमा उत्पादित जडिबुटी , भीरमाहुरी र माैसम अनुसारकाे फलफूलहरुको पनि थप विकास, संरक्षण र बजारीकरण गरिने आश्वास पनि दिए ।

सो विद्यालयको ५०औं स्वर्ण जयन्ती मनाउनुका साथै विद्यालयलाई प्राविबाट माविमा स्तर उन्नती गर्नको लागि आर्थिक संकलन गर्नु कार्यक्रमको उद्धेश्य रहेको विद्यालय संचालक समितिले जनाएको छ । ३ दिनसम्म चलेको स्वर्ण जयन्ती समारोहमा देशविदेशमा रहेका विभिन्न चन्दादाताहरुले स्वेच्छापूर्वक उपलब्ध गराएकाे ७० लाख रकम संकलन भएको आयोजकले जानकारी गराएको छ ।

यो विद्यालयलाई २०३१ सालमा स्थानीय सानमाया घलेले भूमि दान गरेपछि स्थापना भएको हो भने बृटिस सेनामा कार्यरत गजराम घलेले अवकासपछि पहिलोचोटी विद्यार्थीहरुलाई पढाउन सुरु गरेका थिए ।

सो समारोहमा एमाले जिल्ला सदस्य जीतबहादुर गुरुङ र एमालेकाे गण्डकी प्रदेशका सचिवालय सदस्य फुलबहादुर थापा, चन्दादाता तथा गोलखबर डटकमका अध्यक्ष जीवन बुढामगर, बौद्ध जागरण संघ ललितपुरका अध्यक्ष काइला लामा, दोर्दी गाउँपालिकाका पूर्वअध्यक्ष दीलबहादुर घले, भगवान आधारभूत विद्यालयका प्राधानाध्यापक बर्ता घले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर घले लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्वर्ण जयन्तीको अवसरमा आमा समूह, झाँक्री समूह, सोरठी नाच र बालन समूहहरुले आ–आफ्‌ना सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

सो स्वर्ण जयन्ती समारोह माघ १४ समापन भएको थियो भने गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङकाे प्रमुख  आतिथ्यतामा सम्पन्न भएकाे थियाे । लिल फङ (घले समाज) गण्डकी प्रदेशका अध्यक्ष मीनबहादुर घले, सोही संस्थाका वरिष्ठ उपाध्यक्ष मकर घले, घले समाज लमजुङका अध्यक्ष तथा समाजसेवी वीरसिंह घले र सल्लाहकार बुद्धमान घले लगायतका समासेवीहरुको पनि सहभागीता रहेको थियो । समाराेहमा विभिन्न संङ संस्थाका प्रतिनिधिहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

समापन समारोहमा उक्त ३ दिने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरु चीज गुरुङ, राज गुरुङ, प्रशान्त तामाङ, लक्ष्मी तामाङ, मञ्जु विक, बालकलाकार सुप्रिम मल्ल र शान्ति सुनार लगायतका कलाकारहरुले आआफ्‌ना सांगीतिक प्रस्तुतीहरु पस्केका थिए । स्थानीय कलाकारहरूकाे प्रतियाेगितामा ११ समूहले भाग लिएका थिए । प्रतियाेगितामा 

समापन समारोहको अन्त्यमा श्री भगवान आधारभूत विद्यालयलाई माद्यमिक विद्यालयमा स्तर उन्नती गर्नका लागि आवश्यक पर्ने रकम संकलन अभियानमा साथ दिइ आर्थिक दान गर्ने महानुभावहरु तथा चन्दादाताहरुको नामावली र प्राप्त रकम बारे पनि जानकारी गराइएको थियो । तस्वीरहरू : गज  घर्तीमगर