• माघ २० २०८१, आईतवार

अमेरिकालाई करको बदला कर थोपर्दै चीन र मेक्सीको

माघ २० २०८१, आईतवार

बेइजिङ । अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले शनिबार क्यानडा र मेक्सिकोका सामानमा २५% र चीनकोमा १०% कर लगाउने निर्णय गरे लगत्तै ती २ देशले पनि त्यसको जवाफ दिएका छन् ।

ट्रम्पको उक्त निर्णविरुद्ध ती देशले बदला लिने जनाएका हुन् । चीनको वाणिज्य मन्त्रालयले यसप्रति प्रतिक्रिया जनाएको छ । उक्त प्रतिक्रियामा अमेरिकी उक्त कदम विरुद्ध बदला लिने भनिएको छ ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘चीन यस कदमबाट असन्तुष्ट छ । यसको दृढतापूर्वक विरोध गर्दछ । यसले विश्व व्यापार संगठनको नियमहरूको गम्भीर उल्लङ्घन भएको छ ।’

चीनले यस्ता कदमहरू चीन र अमेरिका बीचको सामान्य आर्थिक र व्यापारिक सहयोगको लागि हानिकारक भएको बताएको छ ।

‘चीनले अब अमेरिकाको गलत व्यवहार विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्नेछ र आफ्नो अधिकार र हितको रक्षा गर्न प्रतिशोधात्मक कदम चाल्नेछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सच्याउन र समस्या समाधान गर्न मिलेर काम गर्न आह्वान गर्दछ ।’

चीनले अमेरिकालाई पारस्परिक लाभ, सम्मान र समानताको आधारमा मतभेदहरू समाधान गर्न र पारस्परिक सहयोगलाई बलियो बनाउन पनि अपील गरेको छ । उता ट्रम्पले मेक्सिकोमाथि लगाएको २५ प्रतिशत करप्रति मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले पनि प्रतिक्रिया दिएकी छन् ।

उनले अमेरिका विरुद्ध पनि प्रतिशोधात्मक कारबाही गर्ने जनाएकी छन् । त्यसमा कर पनि समावेश हुने उनको भनाइ छ । राष्ट्रपति शेनबाउमले भनिन्, ‘म अर्थ सचिवलाई योजना बी कार्यान्वयन गर्न निर्देशन दिन्छु, जसमा हामी काम गरिरहेका छौं । यसमा कर लगाउने तथा अन्य उपायहरू समावेश छन् ।’

त्यस्तै अमेरिकाविरुद्ध क्यानडाले पनि २५% कर लगाउने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जनाएको बीबीसीले लेखेको छ ।