विहार । भारतको प्रयागराजमा महाकुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेको गाडी दुर्घटना हुँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ ।
महाकुम्भबाट भीआर ३२ पीए ४६६१ नम्बरको स्कारपियो जनकपुरधाम घर फर्किने क्रममा भारत विहारको मुजफ्फरपुर नजिकै हाइवेमा दुर्घटना भएको हो ।
उक्त घटनामा जनकपुरधामका एकै परिवारका ५ जनाको मृत्यु भएको बताइएको छ । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र गाडी चालक छन् । घटनामा एक प्रहरी जवानसहित ५ जना घाइते भएका छन् ।
दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर, नेपाल प्रहरीका जवान मनोज यादव र एक जना नाम नखुलेका व्यक्ति गीम्भर घाइते भएका छन् ।
घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो एक मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई पल्टेको थियो ।
घाइतेलाई मुजफ्फरपुरको एसकेएमसीएच (श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटल)मा उपचारका लागि भर्ना गरिएको छ ।
घाइते कामिनी झाले दिएको जानकारी अनुसार उनीहरू प्रयागराजमा महाकुम्भ स्नान सकेर अयोध्या र वाराणसीको धार्मिक यात्रा पनि सम्पन्न गरी घर फर्किंदै थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले घटनाको बारेमा समान्य जानकारी पाएको र सो विषयमा थप जानकारी लिइरहेको बताए ।