एक्वेरियममा माछा पालेर आकर्षक देखाउने चलन निकै छ । एक्वेरिममा माछा पाल्नु सौख र सजावटको कुरा मात्र रहेन, आँखालाई शीतलता र मनोरञ्जन दिने माध्यमसमेत बन्न थालेको छ ।
एक्वेरियममा माछा पाल्ने इच्छा धेरैको भए पनि यसको तौरतरिका नमिल्दा फाइदाको सट्टा बेफाइदा भइरहेको हुन्छ । त्यसैले एक्वेरियममा माछा पाल्दा केही कुरामा विशेष ध्यान पुर्याउनुपर्छ ।
माछा किनेर ल्याइसकेपछि तुरुन्तै सफा धाराको पानी वा जारको पानीमा माछा हाल्नु हुँदैन । एक्वेरियममा कति र कस्तो पानी हाल्नेबारेमा थाहा पाउन जरुरी छ ।
एक्वेरियमको पानीमा हाल्दा झट्का लागेर केही समयमा नै मर्न सक्ने वा डिप्रेसनमा पनि जान सक्छ । त्यसैले पसलबाट माछा किनेर ल्याइसकेपछि तुरुन्तै पानीमा हालिहाल्नु हुँदैन । त्यसैले माछालाई पानीमा हाल्नुअघि पानीको तापक्रम २५ देखि २८ डिग्री बनाउनुपर्छ यो अधिकांश माछालाई मिल्ने तापक्रम हो ।
माछालाई तुरुन्तै एक्वेरियममा राखिहाल्नु हुँदैन, त्यसअघि माछालाई प्लाष्टिकको पानीसहितको एक्वेरियममा १० देखि १५ मिनेटसम्म डुबाएर राख्नुपर्छ । त्यसपछि बल्ल माछालाई एक्वेरियमको पानीमा राख्दा आवश्यक तापक्रम मिलेर माछा मर्ने जोखिम कम हुन्छ ।
यसका लागि गर्मीको दुई-तीन महिनाबाहेक अरुबेला चौबीसै घण्टा हिटर चलाइराख्नुपर्छ । पानीको मापन गर्ने किट बजारमा पाइन्छ ।
एक्वेरियममा माछा राख्नुअघि पानीमा ढिके नुनको प्रयोग गर्न सकिन्छ । १२-१५ लिटर पानीमा एक चम्चा ढिके नुन धोलेर राख्नु उपयुक्त हुन्छ । यसले माछाको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यदि पानीमा नुनको मात्रा राख्न जानेको खण्डमा माछा बिरामी हुने जोखिम शून्य नै हुन्छ । तर आयोडिनयुक्त खाने नुन भने हाल्नु हुँदैन, यसले माछालाई नकारात्मक असर गर्ने धेरै व्यवसायीको भनाइ छ ।
माछालाई बिहान र बेलुका मात्रा मिलाएर खानेकुरा खुवाउन सकिन्छ । हप्ताको एकचोटि दिनभरि केही पनि नखुवाई राख्नुपर्छ । यसले उनीहरुको पाचन प्रक्रियालाई राम्रो बनाउने काम गर्छ । किनकि माछा मर्ने अर्को कारण धेरै खानेकुरा पनि हो । माछाले खाना धेरै भएको प्रतिक्रिया नजनाउने भएकाले जति खुवाए पनि खाइरहन्छन् । त्यसैले माछालाई ठिक्क मात्रामा मात्रै खानेकुरा खुवाउनुपर्छ ।
माछा पाल्दा एक्वेरियमको सरसफाइमा पनि विशेष ख्याल राख्नुपर्छ । सबै पानी एकैचोटि फेर्नुहुँदैन । किनकि पूरै पानी फेरिदिंदा पानीमा भएको राम्रो ब्याक्टेरिया नष्ट हुन्छ । साथै माछालाई प्राकृतिक अनुभव गराउन ढुंगा, आर्टिफिसियल बोटविरुवा राखेर एक्वेरियमलाई सजाउन सकिन्छ ।