• माघ १८ २०८१, शुक्रबार

चिनियाँ एआई कम्पनी डिपसिक प्रयोग नगर्न अमेरिकी कर्मचारीलाई चेतावनी

माघ १८ २०८१, शुक्रबार

काठमाडौं । अमेरिकी संसदले संसदीय कार्यालयका कर्मचारीलाई चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी डिपसिकको एप प्रयोग नगर्न चेतावनी दिएको छ ।

संघीय संसदका प्रमुख प्रशासनिक अधिकारीले एक सूचना जारी गर्दै संसारभर हलचल मच्चाइरहेको उक्त चिनियाँ च्याटबटको समीक्षा गरिरहेकाले प्रयोग नगर्न निर्देशन दिएको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ ।

खतरनाक तत्वले डिपसिकको दुरूपयोग गरेर उपकरण संक्रमित पार्न ‘मालवेयर’हरू पठाउन थालेको सो सूचनामा उल्लेख छ । त्यसैले संसदले जारी गरेका आधिकारिक फोन, ल्यापटप, ट्याबलेट लगायत सबै उपकरणमा डिपसिक बन्देज गर्ने सुरक्षा उपाय अवलम्बन गरिएको ती अधिकारीले जानकारी गराएका छन् ।

संघीय संसदको प्रशासनिक कार्यालयले पहिले पनि एआई एप प्रयोगमा बन्देज लगाएको थियो । यसअघि २०२३ मा पनि अमेरिकी कम्पनी ओपनएआईको च्याट जिपिटीको शुल्क तिर्नु पर्ने संस्करण मात्रै प्रयोग गर्न निर्देशन दिएको एक्सियसले जनाएको छ ।

अमेरिकी कम्पनीहरूको तुलनामा धेरै कम खर्च गरेर झण्डै ओपनएआईको च्याटजिपिटीकै हाराहारी क्षमता देखाएर डिपसिकले विश्वभरी सनसनी मच्चाएको छ ।

अमेरिकाले प्रतिबन्ध लगाएर चीनलाई उच्च गुणस्तरका चिप्स किन्न दिएको थिएन । तर अर्बौं डलर खर्च गरेका प्रतिद्वन्द्वीकै क्षमताको एआई मोडल चीनले ल्याइदिएपछि अमेरिकामा चिन्ता छाएको छ ।

डिपसिकको उदयलाई विश्लेषकहरूले तत्कालीन सोभियत संघले सन् १९५७ मा स्पुतनिक भू–उपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष–दौडमा अग्रता हासिल गरेको घटनासँग तुलना गरेका छन् ।

डिपसिकको सफलताबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावलाई अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा परिषदले नियालिरहेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरोलाइन लेभिटले बताएकी छन् ।