सन् २०४० सम्म संसारमा राष्ट्रियतामा नयाँ नक्सा कोरिने भनी सुन्नमा आएका कुरा अहिले साचो पो हुन् कि झैं लाग्न थालेका छन् । साना राष्ट्रमाथि ठूला र आणविक शक्ति सम्पन्न राष्ट्र जाइलाग्न थालिसकेका छन् । यसले हरेक नागरिकको मनमा र आँखामा भय र त्रासको अन्तहीन सङ्केत गरिरहेका छन् ।
इजरोयल प्यालिष्टिनीमाथि खनिइरहेको छ । हमासको नाममा होस् वा अन्य कुनै बाहनामा । सिरिया र अन्य देश पनि उसको निशानामा छन् । बेलाबेलामा आक्रमण पनि गरिरहेको छ । यो पनि सिमाना बिस्तारको अभियानसँग जोडिएको छ । भन्दा आत्मरक्षाका लागि भने पनि आन्तरिक उद्देश्य र मनसाय भने अर्कै छ । इरानमाथि अमेरिकी ‘थ्रेट’ कायमै छ ।
उता रूसको सार्वभौमसत्तामा खलल पुर्याउन युक्रेनले भूमिका निर्वाह गरिरहेको भन्ने गम्भीर आशङ्का पैदा भएपछि रूसले युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ । युक्रेनी भूभाग कब्जा गरिरहेको छ । अहिले युद्ध विरामका कुरा जितेका क्षेत्र रूसमा बिलय गर्ने प्रस्ताव बनिरहेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा अमेरिकाको ५१ औं राष्ट्र भनी खुल्लमखुल्ला घोषणा गरिसकेका छन् । ग्रिनल्याण्डमा हक जमाउने कुरा गरिरहेका छन् । पनामा देशमाथि आक्रमणका धम्की दिइसकेका छन् ।
उता चीनको ताइवान समस्या, भारतको छिमेकी देशसँगको समस्या पनि सीमा समस्यासँग जोडिएर गिजोलिएका र बटिल बनाइएका छन् । संसारमा देशका नक्सा अदल समयक्रमसँगै अदलबदल हुँदै आएका पनि छन् । यो प्रविधिको विकाससँगै जोडिएको पनि छ ।
ढुङ्गे युगपछि कृषि युगमा आउँदा पनि यस्ता नक्सा परिवर्तनका कुरा हुने गरेका देखिन्छन् । धनुषकाँडको युगमा आउँदा मानिसले बलपूर्वक आफ्नो राज्यको सिमाना हेरफेर गरेका छन् । पछि फलामको युग आउँदा यसले विनाशक परिस्थिति निम्त्याउने गरेको थियो ।
अङ्ग्रेजको गोला र बारूदले संसार हायलकायल पारेको थियो । बेलायत कहिल्यै सूर्य नअस्ताउने देश बनेको थियो । यो नजिर हाम्रो इतिहासमा रगतले लेखिएको छ । अहिले आणविक युग आएको छ । यसको मैमत्तता हिरोसिमा र नागासाकीमा देखेर मात्र मानव जगतको चित्त बुझेको छैन । यसले अबका दिनमा सीमा बिस्तारका बल दिने देखिन थालेको छ ।
कार्लमाक्र्सले भने झैं यस्ता सीमा बिस्तारका अभियान साम्यवादमा मानव जातिले पदार्पण नगर्दासम्म चलिरहने प्रक्रियामा दर्ज हुने गरेका छन् । पछिल्लो समयमा देशका सीमा र त्यो पनि महाशक्ति राष्ट्रका सीमा फैलने र शक्तिहीन राष्ट्रका सीमा गाभिने प्रक्रियामा देखिन्छन् ।
युक्रेनमाथि रूसको हमलामा अमेरिका चुप रहने र संयुक्त राज्य अमेरिकाको वरपरका राष्ट्रमाथि हमला हुँदा रूस चुप रहने हो भने विश्वमा कल्पना नगरिएको सीमा बदलाब आउने देखिन्छ । शासन व्यवस्थामा एउटा सरकारी दल र अर्को प्रतिपक्षी दलको परिकल्पना गरिए झैं विश्वमा पनि दुई वा तीनवटा देश र दुई वा तीनवटा महाशक्ति मात्र हुने अवस्था देखा पर्न सक्छ ।
ती शक्ति पनि एकीकरण भएर एउटै बनेर जान थाले भने त विश्व धरातलीय रूपमा पनि एउटै बन्ने छ । राष्ट्रिय सीमा हराउने छन् । यो अवस्था साम्यवादका प्रवर्तक कार्ल मार्क्सले परिकल्पना गरे झैं विश्व एउटै बनेर धातल पनि साम्यवादी अवस्थामा पुग्ने त होइन ? किनकि विज्ञान र प्रविधिले संसारलाई एकै ठाउँमा जबर्जस्त ल्याइदिएको छ । समयक्रमसँगै महाशक्ति राष्ट्र इच्छा होस् वा बाध्यताले त्यतै डोरिँदै गएका त छैनन् कतै ?