• माघ १८ २०८१, शुक्रबार

सभामुखसित चर्काचर्कीपछि रास्वापाका सांसदहरु बैठकमा फर्किए

माघ १८ २०८१, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेका थिए । यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो नलिम्बन फुकुवाको माग गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सो विषय उठाएको थियो । उक्त विषयबारे ध्यानाकर्षण गर्दै सभामुख घिमिरेले निरन्तर संसद् अवरोध नगर्न आग्रह गरिरहेका छन् तर, रास्वपा सांसदहरूले बैठक अवरोध गरिरहे । उनीहरूले बैठकको सुरुमै आफूहरूले धारणा राख्नुपर्ने माग राखिरहेका थिए ।

सभामुख देवराज घिमिरेले रास्वपा नेताले माग गरेको विषय आजको संसद बैठकको कार्यसूचीमा रहेको बताएपछि उनीहरुले संसद चल्न दिएका थिए । केहीबेर अघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।

सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।
उनीहरूले बैठकको सुरुमै आफूहरूलाई आकस्मिक समय छुट्याउनु पर्ने माग राखेका थिए ।

यसैबीच रास्वपाले आफूले सांकेतिक विरोधस्वरुप मात्र आफूहरूले संसद् बैठक बहिष्कार गरेको बताएको छ । प्रतिनिधिसभा बैठकको सुरुमै आफूहरूले बोल्न पाउनुपर्ने माग राख्दै रास्वपाक सांसदहरूले १५ मिनेटका लागि बैठक अवरोध गरेका थिए ।

हामीले हाम्रा केही कुरा संसदमा राख्न चाहेका थियौं । संसद्को अधिवेशन पहिलोचोटी सुरु हुँदैगर्दा हाम्रा केही विशेष कुरा छन्,’ बैठक अवरोध गर्न पर्नुका कारणहरूबारे चर्चा गर्दै रास्वपा सांसद सोविता गौतमले भनिन्, ‘जो सभामुखसँग राख्न चाहन्छौं भनेर सभामुखसँग माग गरेका थियौं । उहाँले समय दिनु भएन । त्यसको विरोधस्वरुप हामी १५ मिनेट सदन बहिष्कार गरेर सदनबाट निस्किएका थियौं ।’

उनले सांकेतिक विरोधका रुपमा यसलाई लिनुपर्ने बताइन् । ‘यो सांकेतिक विरोध मात्रै हो । हामीले सांकेतिक विरोधस्वरुप हामीले बहिष्कार गर्‍यौं,’ उनले भनिन् ।