माघ १८, काठमाडौं । अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ ।अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाको शव फेला परेको जनाएका छन् ।
१७ जना अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको भनिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन् । वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विचिटाबाट आएको अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो ।
आकाशमै ठोक्किएका जहाज र सेनाको ब्ल्याक हक हेलिकप्टर आगोको लप्टोसहित पोटोम्याक नदीमा खसेको थियो । जहाजमा चालकदलका ४ सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन जना सैनिक सवार थिए । उनीहरू सबैको मृत्यु भएको भनिएपनि सबैको शव फेला परेको छैन ।
जहाजमा अन्य मुलुकका मानिसहरू पनि सवार थिए । ती मध्ये दुई जना अर्जेन्टिनाका र तीन जना चिनियाँ नागरिक रहेको भनिएको छ । अरू कुन कुन देशका नागरिक थिए भन्ने सार्वजनिक भएको छैन । जहाजको ब्ल्याक बक्स भेटिइसकेको छ ।
वासिङ्टन पोस्टका अनुसार दुर्घटनाको समयमा विमानस्थलको टावरमा कर्मचारी अभाव थियो । त्यतिबेला चार जना एटिसीको काम दुई जनाले मात्रै गरिरहेको उड्डयन विभागलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले समाचार लेखेको छ ।
राष्ट्रपति ट्रम्पले भने जहाज दुर्घटना हुनुमा यसअघिको डेमोक्र्याटको सरकारका नीतिलाई दोष दिएका छन् । उनले उड्डयन प्रणाली काम गर्नका लागि भर्ती हुन उच्चतम मापदण्ड हुनुपर्ने बताउँदै यसअघिको प्रशासनको नीतिका कारण दुर्घटना भएको बताए ।
‘उनीहरूको नीति खराब थियो । राजनीति त्यो भन्दा अझै खराब थियो,’ उनले भने । ट्रम्पले कुनै आधार र प्रमाणबिना अघिल्लो सरकारलाई दोष दिएको भन्दै उनको आलोचना भएको छ ।