काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको वाशिंगटन डीसी नजिकै हेलिकोप्टरसँग अमेरिकन एयरलाइन्सको विमान ठोक्किएर भएको दुर्घटनाको वास्तविक कारण थाहा नभएको बताएका छन् । उक्त दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको थियो ।
राष्ट्रपति ट्रम्पले दुर्घटनाको विस्तृत छानबिन गर्न आदेश दिइएको बताउँदै भने, “यो दुर्घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर, हामी छिट्टै पत्ता लगाउनेछौँ । र, फेरि यस्तो नहोस् भनेर सुनिश्चित गर्नेछौँ ।”
उनले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै अमेरिका शोकमा डुबेको बताए । उनले भनेका छन्, “हेलिकोप्टर गलत समयमा गलत ठाउँमा थियो ।”
उनले यस घातक दुर्घटनाका लागि अघिल्लो बाइडेन सरकारको डीईआई प्रोगामलाई दोष दिए । यो कार्यक्रम अन्तर्गत अपांगता र मानसिक समस्या भएका मानिसलाई एयर ट्राफिक कन्ट्रोलरको रूपमा भर्ती गरिएको उनको आरोप छ ।
उनले ओबामा र बाइडेन प्रशासनलाई एयर ट्राफिक कन्ट्रोलमा औसत व्यक्ति भर्ती गरेको आरोप लगाए । ट्रम्पले आरोप लगाए पनि यसको कुनै प्रमाण भने दिएनन् ।
ट्रम्पले आफ्नो एक कार्यकारी आदेशलाई उदृत गरे जुन एयर ट्राफिक नियन्त्रणमा उच्च मापदण्ड अपनाउने थियो । बीबीसीबाट ।