• माघ १७ २०८१, बिहीबार

शरीरमा रगतको कमी के भएर हुन्छ ?

माघ १६ २०८१, बुधबार

शरीरमा हेमोग्लोबिनको स्तर (मात्रा) घटेको अवस्थालाई रगतको कमी भएको अर्थात रक्तअल्पता भनिन्छ ।

शरीरमा हेमोग्लोबिनको मात्रा घट्यो भने रगतले चाहिने जति अक्सिजन बोकेर हिड्न सक्दैन । अक्सिजनको आपूर्तिमा कमी आउनासाथ शरीर भित्र हुने कतिपय रासायनिक प्रतिक्रियाहरु प्रभावित हुन्छन् र शरीरले चाहिए जति शक्ति प्राप्त गर्न सक्दैन । रक्तअल्पता  आफैँमा कुनै रोग होइन तर रोगको संकेत भने हो ।

रक्तअल्पताका लक्षणहरु:
श्वासप्रश्वास छिटो हुनु
छालाको रंग हलुका पहेंलो देखिनु
थकान र कमजोरी महसुस हुनु
चक्कर आउनु र छटपटी हुनु
छाती दुख्नु
मुटुको धडकन बढ्नु, धडकनमा असन्तुलन आउनु

शरीरलाई हेमोग्लोबिन उत्पादन गर्न फलामको आवश्यकता पर्दछ । गर्भावस्थाका बेला, बच्चालाई दूध खुवाउने अवस्थामा तथा पटक पटक रक्तदान गरेको अवस्थामा शरीरमा संचित फलाममा कमी आउन सक्छ । राता रक्तकोष बनाउन आवश्यक भिटामिनको कमी भएमा भिटामिन बी १२ प्राप्त गर्न नसक्नेले अतिरिक्त रुपमा सो भिटामिन लिनु पर्ने हुन्छ ।

फोलेट पाइने हरिया सागसब्जी, फलफूल कम खानाले शरीरमा फोलेटको कमी हुन सक्छ । आन्द्रामा हुने सेलियाक जस्ता रोगका कारण पनि आन्द्राले यथेष्ट मात्रामा पोषक तत्व शोषण गर्न सक्दैन।राता रक्तकोष बनाउनका लागि आवश्यक एरिथ्रोपोइटिन नामक हर्मोनको कमी भएमा मिर्गौला सम्बन्धी पुरानो रोग र क्यान्सर तथा केमोथेरापीका कारण शरीरमा एरिथ्रोपोइटिन नामक हर्मोनमा कमी आउँछ ।

शरीरमा रगतको कमी भएको कसरी थाहा पाउने ?
रगतमा भएको हेमोग्लोबिनको मात्रा परीक्षण गरेर शरीरमा रक्तअल्पता भए नभएको पत्ता लगाइन्छ । यदि तपाईंमा सामान्य खालको रक्ताल्पता भएको छ भने कुनै विशेष लक्षण देखिँदैनन् । तर रक्तअल्पताका लक्षण देखिएको अवस्थामा त्यसमा निहित कारण पत्ता लगाउनका लागि रगतको विभिन्न परीक्षणका साथै इण्डोस्कोपी वा हाडको मासीको बायोप्सी परीक्षण गर्नु पर्ने हुन्छ । विकासोन्मुख मुलुकहरुमा रक्ताल्पताको मुख्य कारण भनेको अंकुशे जुकाको प्रकोप हो । यसका लागि दिसा जाँच गर्नु पर्ने हुन्छ ।