• बैशाख ६ २०८२, शनिबार

नक्कली भुटानी काण्डका झा र सचिव पाण्डेको मुद्धामा आज सुनुवाइ हुँदै

माघ १५ २०८१, मंगलवार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको अभियोगमा अदालतको आदेशले थुनामा रहेका दुई प्रतिवादीहरू वेचन झा र टेकनारायण पाण्डेको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदैछ । निलम्बित सचिव पाण्डेको मुद्दा एकल इजलासमा र झाको मुद्दा संयुक्त इजलासमा पेसी रहेको छ ।

जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका दुवै जनाको मुद्दा अलग अलग न्यायाधीशको इजलासमा पेसी तोकिएको थियो । पाण्डेको मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी रहेको छ ।

त्यस्तै झाको मुद्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

यसअघि पाण्डेको मुद्दा हेर्न नभ्याउने भएको थियो भने झाको मुद्दामा फाइल मगाउने आदेश गरेको थियो ।
पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । उनको रिटमा पहिलो सुनुवाइ हुँदैछ । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए ।

पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् । उनी पहिलो अभियोगपत्रका प्रतिवादी हुन् ।
सरकारले पहिलो अभियोगपत्रमा पूर्वमन्त्रीद्धय बालकृष्ण खाड, टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो ।