• माघ १६ २०८१, बुधबार

नन्दबहादुर पुन राजनीतिमा फर्किँदा विद्या भण्डारी खुशी

माघ १४ २०८१, सोमबार

विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रको सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहभागी भएकोमा खुसी लागेको बताएकी छन् ।

विराटनगर रहेकी पूर्व राष्ट्रपति भण्डारीसँग पत्रकारहरुले यसबारे प्रश्न गरेका थिए । जवाफमा आफूलाई खुसी लागेको र शुभेच्छा प्रकट गर्ने बताइन् ।

‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ। राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्टपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

तर आफ्नो राजनीतिक सक्रियताबारे भने निर्णय गर्न बाँकी रहको उनले बताइन् । ‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो । तर छलफलको चरणमा प्रवेश गरेको छैन’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

यद्यपि राष्ट्रिय राजनीतिमा आफू सक्रिय रहेको बताइन् । ‘राष्टिय राजनीति नै गरेर यो तहसम्म जिम्मेवारी पूरा गरेको अवस्था हो’ भण्डारीले भनिन्, ‘नेपाललाई के गर्दा राम्रो हुन्छ भन्नेमा चासो भइहाल्छ नि ।’