• चैत्र १९ २०८१, बुधबार

टाइगर कप भलिबलः ट्राभल इन्क्वारीमाथि एपीएफको पुनरागमन जित

माघ १२ २०८१, शनिबार

माघ १२, काठमाडौं । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले विजयी सुरुआत गरेको छ ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्याण्डमाथि पुनरागमन जित निकाल्दै एपीएफको महिला टिमले विजयी सुरुवात गरेको हो । सुरुका दुई सेट गुमाएको एपीएफले ट्राभल इन्क्वारी युनाइटेडमाथि ३–२ को सेटमा पुनरागमन जित निकालेको थियो ।

पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२० ले ट्राभल इन्क्वारीलाई सुम्पिएको एपीएफले तेस्रो सेटमा २५–१९ र चौथो सेटमा २५–२० को जित निकालेको थियो । पाँचौँ तथा निर्णायक सेट एपीएफले १५–७ ले जितेको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगिता १९ माघसम्म चल्नेछ । प्रतियोगितामा २ विदेशी टिमसहित ६–६ टिमले सहभागिता जनाएका छन् । विदेशी टिमका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्याण्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुनेछन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सहभागिता हुँदैछन् । महिलातर्फ सहभागी टिममा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

प्रतियोगिताका विजेता टिमले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ र उपविजेताले समान २ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । यसैगरी, तेस्रो हुने टिमले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।