• बैशाख ९ २०८२, मंगलवार

एमालेसित चुनावी सहकार्यको कुनै सम्भावना छैन : अध्यक्ष दाहाल

माघ १२ २०८१, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गरे । दाहालले माओवादीका धेरै कमीकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरी अघि बढ्ने उल्लेख गरे ।

उनले बिचौलियाको सेटिङ भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रूपमा संख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहोर्याए ।

अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षीहरू एक भएर सदन बोलाउन दबाब दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ । उनले अब विपक्षीहरू सामूहिक रूपमा अघि बढ्ने र समाजवादी मोर्चालाई समेत सक्रिय बनाउने धारणा राखे ।