काठमाडौं । संगीत रोयल्टी संकलन समाजले रोयल्टी नबुझाउने होटेल तथा रेस्टुराँविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ ।
पटक–पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाउने होटेल, रेस्टुराँ र क्याफेविरुद्ध उजुरी दिइएको संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए ।
विभिन्न म्याद राखेर तीनपटक रोयल्टी बुझाउन चिठी लेख्दा पनि अटेर गर्नेविरुद्ध उजुरी दिइएको उनले बताए । “धेरै क्षेत्रका कम्पनी, संस्था तथा व्यक्ति रोयल्टी बुझाउनुपर्छ भन्नेमा सचेत छैनन्,” अध्यक्ष अधिकारीले भने, “हामीले १९ हजार चिठी काटेका छौँ । उजुरीका लागि परिपक्व भएका संस्थाविरुद्ध हाम्रो उजुरी क्रमैसँग जानेछ ।”
रोयल्टीको विषय नेपालमा अझै धेरैलाई बुझाउन बाँकी रहेको उनले बताए । सरकारलाई पनि यसबारे धेरै जानकारी नभएको अवस्थामा अरू संस्था र व्यक्तिले नबुझ्नु स्वाभाविक रहेको उनको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी पूर्णिमा चन्दले समाजबाट उजुरी प्राप्त भएको पुष्टि गरिन् । “सामूहिक रूपमा उजुरी आएको छ, तर दर्ता भइसकेको छैन,” प्रवक्ता चन्दले भनिन्, “कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमा छौँ ।”