धनुषा । मधेस प्रदेश सरकारले मधेसको कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता लिएको छ । बुधबार प्रदेश सभामा पेस भएको उक्त विधेयक शुक्रबार प्रदेश सरकारले फिर्ता लिएको हो ।
शुक्रबार बिहान बसेको मधेस प्रदेशको मन्त्रिपरिषद बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मधेसको कामकाजी भाषासम्बन्धी विधेयक सरकारले फिर्ता लगेको जानकारी गए ।
विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रूपमा समेटिएको थियो । विधेयकमा मधेसमा बोलिने मातृभाषा थारुलाई छोडेर अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै चौतर्फी विरोध भएको थियो ।