• बैशाख ९ २०८२, मंगलवार

टरिगाँउ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने प्रचण्डको आश्वासन

माघ ११ २०८१, शुक्रबार

घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको तुलसीपुरमा रहेको टरिगाँउ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले लामो समयदेखि स्तरवृद्धि हुन नसकेको विमानस्थलको विस्तारका लागि पहल गर्ने बताएका हुन् ।

राजनीतिक खिचातानीका कारण लामो समयदेखि स्तरवृद्धि गर्ने कुरा उठे पनि हुन नसकेको भन्दै प्रचण्डले भने, ‘दाङसहित राप्ती क्षेत्रका लागि टरिगाउँ विमानस्थलको स्तरवृद्धि हुन आवश्यक छ । यहाँबाट नियमित रुपमा हवाई सेवा सञ्चालनका लागि म पहल गर्नेछु ।’

प्रदेश राजधानी भएको ठाउँको विकासका लागि पनि टरिगाँउ विमानस्थलको विस्तार हुन आवश्यक रहेको प्‌चण्डको भनाई रहेको छ ।

टरिगाँउ विमानस्थलको स्तरवृद्धिका सन्दर्भमा अहिले सबै राजनीतिक दलको एजेण्डा मिल्दै गएकाले २०११ सालमा स्थापना भएको विमानस्थलको विकास र विस्तार अब कसैले रोकेर नरोकिने उनले भनाई छ ।

दाङ आएका प्रचण्डले आज नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशनको उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।