• माघ १३ २०८१, आईतवार

दाङ पुगेर प्रचण्डले भने, ‘जनयुद्धमा उठाएका मुद्धा छोड्दा माओवादी कमजोर भयो’

माघ ११ २०८१, शुक्रबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारेका छन् ।

शुक्रबार दाङको तुलसीपुर–८ बटोलपुरस्थित भगवती चौधरीको घरमा आयोजित कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको स्वीकारेका हुन् ।

जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही वर्ग र समुदायको अगाडि बढाउने सङ्कल्प गरेको उनले बताए ।

‘जनतासँग हाम्रो सम्बन्ध अलि कमजोर हुन गयो । हामीले जुन वर्ग समुदायका निम्ति क्रान्ति गर्‍यौँ । ती वर्ग, समुदायका माग र मुद्दा कमजोर जस्ता भएका छन् । अब त्यसलाई सच्याउनुपर्छ । सहिद तथा बेपत्ता र घाइते योद्धाका परिवारसँग पनि भेटघाट र सम्बन्ध बढाउनुपर्छ’, उनले भने, ‘हिजो जनयुद्धमा जुन वर्ग समुदायका माग र मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही समुदायतिर नै फर्किनुपर्छ । सबै वर्ग समुदायतिर फर्किने अभियान चलाउँदै छौँ । जनयुद्ध र जनआन्दोलनका सहिदलाई यो पटक राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेँ । यसमा म सन्तुष्ट छु ।’

सोही क्रममा अध्यक्ष प्रचण्डसहित नेताहरूले सहिद परिवारले तयार गरेको थारु समुदायको परिकारसहित खाना खाएका थिए । जनयुद्ध कालमा चौधरीको परिवारले ६ जना सदस्य गुमाएका थिए ।