काठमाडौँ । माघ महिनाभर बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिँदैछ । काठमाडौँको रातोपुलस्थित रहेको नेशनल बाथरोग सेन्टरले महिनाभर निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
यस परीक्षणमा सीआरपी, इएसआर, युरिक एसिड र सुगर निःशुल्क परीक्षण गरिने सेन्टरले जनाएको छ । सेन्टरकी बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीका अनुसार बाथरोगको समयमै परीक्षण नगरेमा यसले दीर्घकालीन असर पुर्याउन सक्छ ।
हड्डीको संरचना बिग्रिनु, चल्न नसक्नु, दैनिक जीवनमा कठिनाइ हुने जस्ता समस्या हुन सक्ने बताइन् ।
समयमा पहिचानका लागि परीक्षण आवश्यक रहेको सुनाइन् । ढाड, घुँडा वा अन्य जोर्नी दुख्ने, बिहान उठ्दा जोर्नी अकडिने वा चलाउन गाह्रो हुने, हातखुट्टा सुन्निने वा कमजोर महसुस हुने लक्षण भएमा परीक्षण गराउन आवश्यक हुन्छ ।