डोनाल्ड ट्रम्पले जनवरी २० मा क्यापिटल हिलस्थित अमेरिकी संसदमा ४७ औँ राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरिसकेका छन् । उनको दोस्रो कार्यकालका लागि निर्वाचनमा जति चुनौती थिए, त्योभन्दा बढी चुनौती उनी आफू निर्वाचित भएपछि थपेका छन् । त्यो पनि सपथग्रहणको उदघाटन भाषणमा आफैले घोषणा गरेर ।
सत्तारोहणसँगै ट्रम्पले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म अमेरिकी नीतिमा अजङ्गका परिवर्तन ल्याउने घोषणा गरेका छन् । सपथ लिएर कार्यारम्भ गर्दाको पहिलो क्षणमै उनले निवर्तमान राष्ट्रपति जो बाइडनका ७८वटा निर्णय बदर गरिदिएका छन् ।
अवैध आप्रवासी निष्कासन गर्ने, अमेरिकी भूमिमा जन्मिएकै आधारमा नागरिकता नदिने, विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट बाहिरिने ट्रम्पका निर्णयले निकै चर्चा पाएका छन् ।
जन्मसिद्ध नागरिकता अन्त्य गर्ने निर्णय कार्यान्वयनका लागि ट्रम्पले सरकारी अधिकारीलाई ३० दिनको म्याद दिएका छन् । १५० वर्ष पहिलेदेखि हालसम्म अमेरिकामा कार्यान्वयनमा रहेको बालबालिकाको जन्मसिद्ध नागरिकताको अधिकारलाई यसले गम्भीर धक्का दिएको छ । यसले अमेरिकामा बढ्दो जनसङ्ख्यामा कमी भने ल्याउने छ । किनकि, अमेरिकामा बच्चा जन्माउनका लागि मात्र भए पनि मानिस भिजिट भिसामा जाने र उतै लुक्ने अनि बच्चा जन्माएर अमेरिकी नागरिक बनाई आफूहरू स्वदेश फिर्ता हुने गरिरहेका थिए ।
आज भन्दा ४ वर्ष अगि सन् २०२१ को जनवरी ६ मा उनकै निर्देशनमा भएको क्यापिटल हिलस्थित संसदभित्र घटित हिंसाका १६०० दोषीहरूलाई उनले माफी दिएका छन् । यसले अमेरिकामा अराजकताको अवस्थालाई मलजल गर्ने देस्विदेश खन्छ । उनको क्यापिटल हिल कब्जाको नीति अरूले पनि अनुशरण नगर्लान् भन्न सकिदैन ।
अवैध आप्रवासीहरूलाई ‘क्याच एण्ड रिलिज’ नीतिका आधारमा अमेरिकाबाट निकालिने र थप अवैध आप्रवासीको प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यसले हाल अमेरिकामा रहेका विश्वका लाखौंलाख मानिसलाई आआफ्ना देशमा फिर्ता गर्ने छ । यसले अमेरिकामा घट्दो जनसंख्याका कारण अमेरिकी बासिन्दालाई सहज अवस्था निर्माण गर्ने देखिन्छ ।
तर अमेरिकाबाट स्वदेश फर्केका मानिसमा भने असहता र समस्या देखा पर्ने छ । संसारको स्वर्ग मानिने अमेरिकामा गएका ती मानिस स्वदेशमा रोजगार र स्वरोजगार समेत पाउने अवस्थामा देखिदैनन् । अवैध आप्रवासनले अमेरिकामा खतरनाक अपराधीहरूलाई आश्रय र संरक्षण मिलेको ट्रम्पको दाबी छ ।
ट्रम्पले अमेरिका–मेक्सिकोको सीमानामा आपतकालको घोषणा गरी अवैध आप्रवासी प्रवेशमा प्रतिबन्ध लगाउने तथा मेक्सिको खाडीलाई ‘अमेरिकी खाडी’मा रूपान्तरण गर्ने कठोर निर्णय लिएका छन् । यसले प्रशासनिक व्यवथापनमा अमेरिकामा समस्या सिर्जना गर्ने देखिन्छ ।
बाइडन प्रशासनले एक कार्यकारी आदेश मार्फत चिनियाँ सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्ध लगाउने गरी बनाएको कानुनमाथि ७५ दिनको रोक लगाएर टिकटक खुल्ला गरिदिएका छन् ।
यसमा उनका समर्थक तथा भोटरको दबाब उनीमाथि रहिरहेको र उनले यो कुरा महसुस गरेको देखिन्छ । तर उनको पूर्ववर्ति बाइडन प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षा र प्रयोगकर्ताको गोपनियतामा खतरा उत्पन्न गराएको आरोप सहित टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन बनाएको थियो ।
अमेरिकामा जात, रङ, क्षेत्र र वर्गका आधारमा होइन, केवल लिङ्गका आधारमा महिला र पुरूषमात्र दुई जाति रहने छन् भनी ट्रम्पले घोषणा गरिदिएका छन् । यसले अमेरिकामा तेस्रो लिङ्गीको आवाज उठ्ने वातावरण सिर्जना गर्दै गइरहेको छ । सबै प्रकारका सरकारी सेन्सरसिप रोक्न र अभिव्यक्ति स्वतन्त्रता पुनस्र्थापित गर्न आदेश दिएका छन् ।
हालका दिनमा चीनले पनामा नहर सञ्चालन गरिरहेकाले उक्त नहर खोस्ने र आफूहरूले सञ्चालन ट्रम्पले घोषणा गरिसकेका छन् । मेक्सिको खाडीको नाम परिवर्तन गरेर अमेरिकी खाडी राख्ने घोषणा गरेका छन् । यसले मेक्सिको तथा पनामासँग अमेरिकी दुरी टाढिने देखिएको छ । पनामाका राष्ट्रपतिले ट्रम्प नीतिको खण्डन पनि गरिसकेका छन् ।
ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । यसले संयुक्त राष्ट्र संघ र अमेरिकाको सम्बन्धलाई चिसो बनाउने देखिएको छ । यसका साथै, पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग्याउने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि जलवायु प्रदुषणको मामलामा अमेरिका पछि हट्ने र जलवायु प्रदुषण बढावा दिने काम कार्वाहीमा अमेरिका अघि बढ्ने वैश्विक चुनौतिको सङ्केत देखिएको छ ।
ट्रम्पको अतिरिक्त कर लगाउने घोषणाले क्यानडा र मेक्सिको बढी प्रभावित हुने देखिएको छ । ट्रम्पले फेब्रुअरी १ पछि लागू आयात गरिने सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाउन सक्ने बताएपछि यसले छिमेकी देशमा तनाव बढाएको छ । ट्रम्प प्रशासनले ‘ग्रिन न्यू डिल’ अस्वीकारगर्ने बताएका छन् । यसले विश्व तापमान बढाउने क्रियाकलापमा अमेरिका अग्रसर रहने देखिएको छ ।
पनामा नहरमा चीनलाई जोड्नु र ग्रिनल्याण्डको बस्ती संरक्षणका कुरा गर्नुले ट्रम्पले एशिया (त्यसमा पनि चीन) र युरोप (विशेषतः डेनमार्क) सँगको सम्बन्धमा तिक्तता आउने देखिएको छ । मेक्सिको खाडीमाथि आँखा लगाउँदा अमेरिकाको छिमेकी देश मेक्सिकोसँग तनावपूर्ण सम्बन्ध बन्ने प्रष्ट देखिएको छ । मङ्गल ग्रहमा अमेरिकी ताराजडित झन्डा गाड्न अन्तरिक्ष यात्री पठाउने सोच र योजना बनाएको ट्रम्पले घोषणा गरेपछि उनको ‘स्पेस वार’ को रणनीति पुनः जागा भएर आउने देखिएको छ ।
क्युबालाई फेरि आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूचीमा राख्न ट्रम्प तत्पर देखिएका छन् । यसले सुधार हुँदै गएको अमेरिका–क्युवा नीतिमा मात्र होइन, विश्वमा बलशाली रहेको चीन, रसियासहितको अर्को ध्रुवलाई उत्तेजित बनाउने छ । उनको दक्षिणपन्थी राष्ट्रवाद फेरि पनि पनपनाउने अवस्था सिर्जना हुने देखिएको छ ।
यस कारण अमेरिकामा ४७ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको उदयलाई चुनौतिपूर्ण सफलताका रूपमा हेरिएको छ ।