बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा बुधवार अदालतमा उनको बयान सकिएको छ ।
अदालतमा मुद्दा दर्ता भएपछि बुधवार बिहान अदालतमा उपस्थित भएका लामिछाने न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिउँसो एक बजेदेखि सुरु भएको बयान साँझ करिब ५ बजे सकिएको छ ।
बयान सकिएर थुनछेक बहसका लागि समय नहुँदा बिहीबार बिहान साढे १० बजे उपस्थित हुनेगरी लामिछानेलाई उनको परिवार (श्रीमती निकिता पौडेल लामिछाने) र कानुन व्यवसायीको जिम्मा लगाएर पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए ।
करिब ६ बजे अदालतबाट होटलमा बास बस्नका लागि बाहिरिएका लामिछानेविरुद्ध मुद्दामा थुनछेक बहस बिहीबार बिहानदेखि सुरु हुने बताइएको छ ।